कोभिड कहरबीच सुरक्षित प्रसूति सेवा

चितवन : कोभिड सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।
अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोभिड सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।
भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो सङ्ख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासीलगायतका जिल्लाका सामान्य गर्भवतीहरूस्थानीयस्तरमै सुत्केरी हुने गरेकाले केही सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।
जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउँछन् । उनको भनाइमा सुत्केरी गराउनु पर्नेमध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नुपर्छ ।
भरतपुर अस्पतालमा यतिबेला पूर्ववत् अवस्थामा उच्च सावधानीका साथ सेवा दिइएको उनको भनाइ छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक चिकित्सक र दुई नर्स सङ्क्रमित भएका छन् ।
अस्पतालमा १२ चिकित्सक र १८ नर्सले यो सेवा दिइरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराइएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आइसोलेश्नमा रहेको पोखरेलको भनाइ छ ।
सोही अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा दिइरहेको बताउँछन् । मास्क, टोपी, फेससील्ड, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उनको भनाइ छ ।
आवश्यकतानुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसूति सेवा दिइँदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरकफरक ठाउँबाट दिइएको छ । अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउँछन् ।
चितवन मेडिकल कलेजमा प्रसूति विभाग हेर्दै आउनुभएका डा सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसूति सेवा लिने गरेका छन् । अन्य समयमा यो सङ्ख्या पाँच देखि १० हुने गरेको उनको भनाइ छ । वैशाखयता सङ्क्रमण भएका चार जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढङ्गबाट प्रसूति गराइएको उनले जानकारी दिए ।
सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिइरहेको श्रेष्ठ बताउँछन् । बहिरङ र प्रसूति दुवै सेवा सुरक्षित ढङ्गबाट दिइएको उनको भनाइ छ ।
वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहनुभएका चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईं सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिइरहेको बताउँछन् ।
जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढङ्गबाट अस्पतालमा सेवा दिने गरेको उनको भनाइ छ । नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा सेढाईले अन्य बिरामी जस्तो पछि उपचार गरौँला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिइरहेको जानकारी दिए ।
पहिले प्रसूति सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढङ्गबाट सेवा दिइरहेका छन् । राजधानी काठमाडौँपछि सबैभन्दा धेरै प्रसूति सेवा दिने भरतपुर हो । यहाँ चितवनसहित छिमेकी धेरै जिल्लाबाट प्रसूतिका लागि आउने गर्दछन् । यहाँका अस्पतालमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया