आन्तरिक वितरण प्रणाली सुदृढीकरणले २५ अर्बको विद्युत व्यापार बढ्ने
क्षेत्रीय र अन्तर्राष्ट्रिय विद्युत व्यापारका लागि अनुमति दिन निजी क्षेत्रको माग

काठमाडौँ : राम्रा नीति बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा विद्युत् व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको स्वदेशी खपतसँग विद्युत व्यापार र आगामी बजेट विषयक अन्तक्र्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक वर्षको बजेट तयार गर्न सरकारलाई सुझाव समेत दिए ।
कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड दिए । आन्तरिक रुपमा विजुली खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगमा बढावा दिनुपर्ने , घरायसी रुपमा खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग तथा उद्योग तथा व्यवसायमा सहज रुपमा बिजुली प्रयोग गर्न पाउने वातावरण बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।
सरकारले केही नीतिगत सुधार गरेर प्रसारण प्रणालीमा सुधार गर्ने हो भने तत्कालै ५०० मेगावाट उद्योग प्रतिष्ठानले लिन सक्ने अवस्था छ । यस्तै, ब्लेड उद्योगलाई सहजीकरण गर्न सकिए तत्काल नै २०० मेगावाट खपत हुन सक्ने उनीहरुको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालयका सहसचिव मधुप्रसाद भेटवालले आन्तरिक रुपमा बिजुलीको माग बढ्न नसक्नुका तथ्य र कारणको खोजी गर्नुपर्ने उल्लेख गरेका छन् ।
झण्डै १७ हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेको भन्दै उहाँले वितरण प्रणालीलाई राम्रो बनाइएको खण्डमा खपत वृद्धि हुने उनको भनाइ छ । ‘यस्तै विद्युतीय सवारी साधनलाई बढावा दिँदै विशेष आर्थिक क्षेत्र घोषणा भएका स्थानमा सहजीकरण गर्दै उद्योगी व्यवसायीलाई थप केही राहत तथा अनुदान दिएर भएपनि अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यस्तै सिमेन्ट कारखाना, स्टिल कारखानाले विजुली मागे पनि दिन नसकिएको अवस्थालाई मध्यनजर गरेर काम गर्न सकिएको खण्डमा तत्काल नै ५०० मेगावाटसम्म सहजै रुपमा माग बढ्न सक्छ ।’
विद्युतीय सवारी साधनका लागि केही समय पहिले मात्रै ५० वटा चार्जिङ स्टेशनको काम समेत अगाडि बढेको र एलपी गयासको विस्थापनका लागि भने ठोस कार्ययोजना सहितको कार्यक्रम जरुरी रहेको उनको भनाइ थियो । बढी विद्युत् खपत गर्नेलाई कम महसुल लिने नीति जरुरी रहेको तथा बर्षाको समयको बिजुलीको पनि महसुल कम गर्ने गर्नुपर्ने सहसचिव भेटवालको धारणा छ ।
उनले जलाशययुक्त आयोजनालाई ५० वर्ष, अर्धजलाशयुक्त आयोजनालाई ४० वर्षको अनुमति दिने प्रक्रियामा र अन्यलाई पनि सोही अनुसारको व्यवस्था गर्न लागिएको जानकारी दिए । विद्युत् नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले मूल्य घटाएर मात्रै विजुलीको खपत बढ्छ भन्ने मान्यता राख्नुभन्दा पनि त्यसको विविधकरणमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
उनले बर्षा र हिउँदको बिजुलीको महसुल दर फरक फरक बनाउनुपर्ने तथा यामअनुसारको वस्तुनिष्ट महसुल तय गरेर जानुपर्ने र त्यसको बारेमा आयोगले अध्ययन गरिरहेको बताए । बिजुलीको उत्पादन लागत घटाउन सकियो भने महसुलको मूल्य समेत घटन जाने भन्दै त्यसका लागि के–के गर्न सकिन्छ भन्ने बारेमा साझा दृष्टिकोण बनाउनुपर्ने उल्लेख गर्नुभयो । धितालले अन्तरदेशीय बिजुली व्यापारका लागि केही नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै त्यसका लागि सरकारले स्पष्ट दिशानिर्देशन गर्नुपर्ने सुझाव दिए । उनले नोडल एजेन्सी तोक्नेदेखि खुल्ला र स्वतन्त्र रुपमा विद्युत् आदान प्रदान गर्ने संयन्त्र, त्यसको शुल्क तथा अन्य कानुनी प्रबन्धको बारेमा समेत आयोगका तर्फबाट पनि पहल भइरहेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काममा सहजीकरण गर्न आफुहरु प्रयन्तशील रहेको चर्चा गरे । प्राधिकरणले आम उपभोक्ताको हित हेर्दै समन्वयात्मक रुपमा काम गरिरहेको र उद्योगी व्यवसायीको मागलाई समेत सम्बोधन गर्न प्रयास गरिरहेको उनको भनाइ छ ।
‘उद्योेगीलाई प्राधिकरणले उपलब्ध गराउने बिजुलीमा थोरै डिमाण्ड चार्ज बढाएर इनर्जी शुल्कमा केही छुट दिँदा मात्रै पनि माग बढ्ने अवस्था छ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘आन्तरिक रुपमा सिँचाइमा २५० गिगावाट घण्टा र विद्युतीय सवारीमा २५०० गिगावाट घण्टा बराबरको माग बढाउन सकिने अवस्था छ ।’ वितरण तथा प्रसारण प्रणालीलाई सुधार गर्न सकिएको खण्डमा आन्तरिक रुपमा समेत माग बढ्ने भन्दै त्यसका लागि प्राधिरकणले आन्तरिक रुपमा समेत तयारी गरिरहेको शाक्यले जानकारी दिए । उनका अनुसार प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि ‘राइट अफ वे’ मा परेका जनतालाई शेयर दिने नीति बनाउन सकेको खण्डमा स्थानीय समस्या न्यूनीकरणमा मद्दत पुग्नेछ ।
ऊर्जा क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानले बिजुलीको बजार जताततै विस्तारित भएको खण्डमा त्यसैको खोजीमा लाग्नुभन्दा उत्पादन बढाउने तर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले केही नीतिगत परिवर्तन, प्रसारण प्रणालीको विकास तथा विस्तार गर्ने हो भने तत्काल नै २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक बजार स्वदेशमा नै तयार हुन उल्लेख गरे । भारत, बंगलादेश जस्ता मुलुकका लागि नेपालको स्वच्छ र हरित ऊर्जा जरुरी रहेको भन्दै शाक्यले त्यसका लागि संयन्त्र खडा गर्ने र अत्यावश्यक काम गर्नुपर्नेमा जोड दिए । सुनखानी र पेट्रोल खानीले बजार खोज्नु नपरे जस्तै नेपालको ऊर्जाले बजार नपाइएला कि भन्ने चिन्ता गर्नुनपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघको ऊर्जा समितिका सभापति गोपाल खनालले भौतिक पूर्वाधारको विकास र विस्तारमा जोड दिए मात्रै सरकारी तथा निजी क्षेत्रको पहल सार्थक हुने बताए । खनालले राज्य, आम उपभोक्ता र व्यवसायीको हितका लागि साझा दृष्टिकोणसहितको कार्ययोजना जरुरी रहेको उल्लेख गरे ।
एउटा सरकारी निकायले भनेको कुरा अर्को निकायले नमान्ने अवस्थाको पनि अन्त्य गरिनुपर्ने र एकद्वार नीति मार्फत काम हुने वातावरण तयार पार्नुपर्नेमा स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था नेपाल(इपान)का अध्यक्ष कृष्ण आचार्यको भनाइ छ । उनले निर्देशनमुखी सरकारी प्रशासनका कारण काम हुन नसकेको भन्दै प्रक्रियामा अल्झने कि काम पनि गर्ने भन्नेबारेमा स्पष्ट हुनुपर्ने उल्लेख गरे ।
‘हामी आफै उत्पादक भएका कारण हामीले उत्पादन गरेको बिजुली बिक्री गर्न पाउनुपर्छ भन्ने आफुहरुको माग रहेको छ,” उनले भने, ‘विद्युत उत्पादन बढाउनका लागि क्यू ४० को प्रणाली हटाउनुपर्ने धारणा राख्नुभयो । आगामी आवको बजेटले जग्गा प्राप्तिको समस्या, वन क्षेत्रको समस्या तथा अन्य प्रक्रियागत झन्झट हटाउनेतर्फ स्पष्ट व्यवस्था हुनुपर्छ ।’
सरकार राजश्व उठाउनेमा मात्रै केन्द्रीत हुँदा पनि समस्या पैदा भएको भन्दै अध्यक्ष आचार्यले नीति बनाउने भन्दा पनि भएकालाई कार्यान्वयन गर्न आग्रह गरे ।
व्यवसायी भरत खत्रीले व्यापारिक उद्योग तथा व्यवसायीलाई विद्युतको मूल्य असाध्यै महंगो भएको भन्दै त्यसलाई समसापेक्ष बनाउन माग गरे । उनले बढी खपत गर्नेलाई कम महसुल लिने प्रणालीको व्यवस्था गर्न तथा प्रसारण तथा वितरण प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया