...अनि सुस्ताका बालबालिकाले विद्यालय शिक्षा पूरा गर्नै पाउँदैनन्

मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा कक्षा ८ भन्दामाथि अध्ययन गर्नका लागि विद्यालय नहुँदा पढाइ छाड्ने क्रम बढेको छ ।
सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र पठनपाठन हुने हुँदा त्यसपछिको अध्ययन निरन्तरताका लागि विद्यार्थीलाई समस्या हुने गरेको छ । तीन तिरबाट नारायणी नदी र एकतर्फ भारतले घेरिएको सुस्ता गाउँमा कक्षा ८ भन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुनुपरेको सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताए ।
“यहाँका बालबालिका गाउँमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्रै अध्ययन गर्दछन्, त्यसपछिको पढाइ गाउँमा नभएकाले अधिकांश बालबालिका कक्षा ८ उत्तीर्ण गरेपछि विद्यालय जाँदैनन्”, उनले भने, “८ कक्षाभन्दा माथि अध्ययन गर्नका लागि नेपालतर्फ आउन नारायणी नदीमा पुल नहुँदा कठिन छ ।”
गाउँमा पढ्ने अवस्था नहुँदा र कक्षा बढ्दै जाँदा बालबालिकाले पढाइ पनि छाड्दै जानुपर्ने अवस्था छ । जसका कारण कक्षा १ मा भर्नादर उत्साहजनक भए पनि कक्षा ८ सम्म आइपुग्दा विद्यार्थी सङ्ख्या ह्वात्तै घट्ने गरेको पाइएको छ । जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म हाल तीन सय ६० जना विद्यार्थीले अध्ययन गरेको विद्यालयका सहायक प्रधानध्यापक अरन्जेव खानले बताए ।
“विद्यालयमा विद्यार्थी भर्नादर पनि उत्साहजनक नै छ”, उनले भने, “भौगोलिक विकटता कारण कक्षा ८ उत्तीर्ण गरेपछि अधिकांश बालबालिकाले पढाइ छाड्छन् ।” जम्मा पाँच प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाउँमा गई कक्षा ८ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेको उनले बताए ।
“यहाँका अभिभावकको आर्थिक अवस्था पनि कमजोर छ, बाहिर गएर पढ्ने अवस्था छैन, गाउँमै आठ कक्षाभन्दा माथि पढ्न नपाउने भएकाले मुस्किलले पाँच प्रतिशत बालबालिकाले मात्रै उच्च शिक्षासम्म अध्ययन गर्छन्”, उनले भने ।
अहिले कक्षा ८ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले पनि शिक्षकको अभाव रहेको छ । केही अभिभावकले बालबालिकालाई सीमावर्ती भारतीय बजारका विद्यालयमा पढाउँदै आएका छन् । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएको भन्दै सुस्तामै कम्तीमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने स्थानीय मुन्सि हरिजनले बताए ।
“यहाँ एसइई समेत दिन नपाउने अवस्था छ, यदि राज्य छ भने कम्तीमा १२ कक्षासम्म सुस्ता गाँउमै पढ्ने व्यवस्था मिलाउनुपर्छ”, उनले भने ।
अभिभावकले कक्षा थप गरी बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिरहँदा सुस्ता गाउँपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगरले सुस्ता गाउँमा कक्षा थप सम्बन्धमा कुनै योजना नभएको बताए । “त्यहाँ विद्यार्थीहरू माथिल्ला कक्षामा पुगेपछि विद्यालयनै आउँदैनन्, त्यसैले तत्कालै कक्षा थप गर्ने योजना छैन”, उनले भने, “कक्षा ८ सम्म सञ्चालनका लागि पनि शिक्षक अभावमा धौधौ भइरहेको छ ।”
विद्यालयमा चार शिक्षकको दरबन्दी रहेको छ भने दुई जना गाउँपालिकाले थप गरी ८ कक्षासम्म सञ्चालन गर्दै आएको छ । नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको काम पूरा भए सुस्ता गाउँका बालबालिका नारायणीवारि आएर पनि पठनपाठन गर्न सक्ने स्थानीयवासीले बताएका छन् । तर बालबालिकाले बीचैमा पढाइ छाड्ने प्रवृत्तिको अन्त्य गर्न सुस्ता गाउँमै रहेको विद्यालयमा कक्षा थप भए सहज हुने उनीहरूको भनाइ छ ।
रासस
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_FUeywvu2n7_hduxkibllekzeaoarpe1kof5ccclcxj9uzdga9i7qqvwtyloy0ihvdvey8pz.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

प्रतिक्रिया