कर्णालीमा छिट्टै नै निजामती विधेयक ल्याइन्छ : मन्त्री सिंह

सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश निजामती विधेयक छिट्टै ल्याइने बताएका छन् । उनले विधेयकमा कर्मचारीको हित, क्षमता अभिवृद्धि, वृत्ति विकास लगायत कुरामा प्रगतिशील व्यवस्था गरिएको बताएका छन् ।
२०औं निजामती सेवा दिवस २०८० का अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित भई सदनमा टेबुल भइसकेको र छिट्टै सदनबाट पारित भएर ऐनका रूप लिने विश्वास समेत व्यक्त गरे ।
मन्त्री सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भए मात्र जनमुखी सेवा प्रवाह हुने बताएका छन् । कर्मचारीहरूको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुन नसक्ने अवस्था रहेको मन्त्री सिंहले बताए । ‘कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन । त्यसरी हेरिनु हुँदैन । कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह–पूर्वाग्रह राख्नु हुँदैन,’ मन्त्री सिंहले भने, ‘कुनै दलप्रति आस्था राख्न पाउने उहाँहरूको ट्रेड युनियन अधिकार हो । तर, कर्मचारीको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुँदैन भन्ने हाम्रो बुझाई छ । प्रदेश सरकार कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लाग्ने वातावरण बनाउने तर्फ लागिरहेको छ ।’
मन्त्री सिंहले आजको दिनले कर्मचारीहरूलाई पेसाप्रति प्रतिबद्ध बन्न, सेवा प्रवाहलाई प्रभावकारी र जनतामैत्री बनाउन प्रेरणा मिल्ने आफूले विश्वास लिएको बताए । उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्ने मन्त्री सिंहको भनाइ छ ।
‘आजका नागरिक सरल सेवा चाहन्छन् । झन्झटमुक्त सेवा चाहन्छन् । सुशासन र पारदर्शिता चाहन्छन्,’ उनले भने, ‘भ्रष्टाचारमुक्त समाज चाहन्छन् । आजका नागरिक सरल व्यवहार र चुस्त सेवा चाहन्छन् । यसतर्फ तपाईं–हामी सबैले ध्यान दिन जरुरी छ ।’
सरकार र जनताको भेट गराउने पुल भनेको निजामती क्षेत्र नै भएकाले यसलाई व्यवस्थित, समुन्नत र चुस्त बनाउन सबै सरोकारवाला लाग्नुपर्ने मन्त्री सिंहको भनाइ थियो । मन्त्री सिंहले सरकारी सेवा प्रवाह र राजनीतिक व्यवस्थाप्रति जनतामा देखिएको निराशा अन्त्य गर्न पनि कर्मचारीहरू अत्यन्तै लगनशील र जिम्मेवार भएर लाग्नुपर्ने औंल्याए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया