अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा- झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् ।
“गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ”, उनले समस्याबारे जानकारी दिँदै भनिन्, “केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।”
रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक विषादी दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उहाँले बताउनुभयो । हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसान मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् । रोगको समस्या सबैभन्दा बढी वडा नं ७ मा रहेको शाखा प्रमुख बिडारीले बताइन् ।
“परम्परागत तरिकाले खेती गर्दा यस्तो समस्या देखापर्ने धेरै सम्भावना हुन्छ”, उनले भनिन्, “धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।” किसान समस्या भएपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ ।
किसान रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले सङ्क्रमित क्षेत्रको अनुगमन गरेको छ । ‘फिल्ड’मै गएर किसानसँग बुझ्ने, समस्याको अवस्था हेर्ने र कीटनाशक विषादी प्रयोगको तरिका सिकाउने गरिएको उनले बताइन् ।
नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ । अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक बिघासम्मको जमिनमा लगाएको धानबालीमा रोग देखापरेको बताइन् ।
“केही किसान नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो”, उनले भनिन्, “धेरैजसो किसान खेतमा डुलिरहनुभएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरूलाई जानकारी नै छैन ।”
वडा नं ३ का वडासचिव खगेन्द्र लिङ्देनले किसानहरू रोग लागेर पहेँलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताए । आफ्नो वडाको लगभग २० बिघामा रोग देखिएको जानकारी दिए । नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएटलगायतका कीटनाशक विषादी निःशुल्क उपलब्ध गराइरहेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाट्टफुट्ट मात्र रोगको समस्या देखापरेको जानकारी आएता पनि प्रकोपकै रूपमा नफैलिइएको बताए । उनले गबारो, ढुसी र फौजी कीराको सङ्क्रमण फैलिएको भए सम्पर्कमा आउन किसानलाई आह्वान गरेका छन् । रासस

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया