विश्वसँग प्रतिस्पर्धा गर्ने शिक्षा सिक्दै हेटौंडाका विद्यार्थी

मकवानपुर– बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेष गरी उनीहरू बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापमा सहभागी हुन पाउँदा खुसी हुन्छन् । बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तिकै आतुर हुन्छन् ।
अहिले सरकारी र निजी दुवै विद्यालयहरूले किताबी ज्ञानलाई मात्रै नभइ बालबालिकाको अतिरिक्त क्रियाकलापमा समेत जोड दिन थालेका छन् । बालबालिकाहरू स्कुल नजान रोइकराई गर्ने अवस्थाको क्रमशः अन्त हुँदैछ । विद्यालयहरूले पनि बालबालिकाहरूको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्बन गर्दै गएको पाइन्छ ।
यसको पछिल्लो उदाहरण हो, मकवानपुर हेटौंडा–४ स्थित नवोदय शिशु सदन विद्यालय । यो विद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरू गरिरहेको छ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रूपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् ।
विद्यालयले अहिले नवोदय मुन कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत संयुक्त राष्ट्रसंघको ८ अंगको मुख्य कामबारे चर्चा गरिरहेका छन् । यस कार्यक्रममा कक्षा ८, ९ र १० का गरि ३०० जना बालबालिका प्रत्यक्ष सहभागी छन् । सामाजिक विषयमा गरेको अध्ययनलाई प्रयोगात्मक रूपमा अभ्यास गर्न पाउँदा रमाइलोसँगै सिकाई भएको छात्रा खुसी मल्लिकले बताइन् । कार्यक्रममा मकवानपुरसँगै गैडाकोट, चितवन बुटवल जिल्लाबाट विद्यार्थी सहभागी छन् ।
उनले बालबालिकाहरूलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बालबालिकाहरूले सुनाए । सिर्जनशील अध्यापनका कारण बालबालिकाहरू पनि सिर्जनशील भएको अभिभावक झवीन्द्र ज्ञवालीले बताए ।
विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीति नियम, योजना तथा समस्याको समाधानबारे वृहत् विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।
विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाइ, सहकार्यलगायत अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
१४ गतेबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरूको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरू र यसको सम्भावित समाधानहरूको बारेमा धारणा राख्ने मौका दिइएको छ ।
बालबालिकाहरूलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरूले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदय नमुना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमुना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरू पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्वनिर्धारित समस्यामा वृहत् छलफल गरेर कार्यक्रम सञ्चालन भइरहेको महासचिव खनालले बताए ।
नमुना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरू परिकल्पना गरिएको छ । ती सातवटै निकायहरूको एजेन्डाहरूको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरूको पनि सहभागिता रहेको छ । विद्यालयले गत २ वर्ष यो कार्यक्रम भर्चुअल प्रविधिबाट गरेको थियो ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया