शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

गण्डकी प्रदेश सभा १६ जेठमा डाक्न सिफारिस

पोखरा : गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्‍नेतले जानकारी दिए ।  

गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो । 

प्रदेश सरकारको बजेट असार १ सम्म ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्‍वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मन्त्रिपरिषद् बैठकले भौतिक प्रर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई प्रदेश सडकसम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्विकृति दिएको प्रवक्ता बस्‍नेतले जानकारी दिए ।