चीनको छङ्तुमा नयाँ महावाणिज्यदूतावास

बेइजिङ : चीनको दक्षिण-पश्चिममा अवस्थित सछ्वान प्रान्तको सदरमुकाम सहर छङ्तुमा नेपालले सोमबार मे २४ बाट औपचारिक रूपमा महावाणिज्यदूतावास आरम्भ गरेको छ । चीनका लागि नेपालका राजदूत महेन्द्र बहादुर पाण्डे, सछ्वान प्रान्तीय सरकारका उप-गभर्नर लि युनच, छङ्तु नगरपालिकाका मेयर वाङ फङछाओ र चीनको परराष्ट्र मन्त्रालयमातहत कन्सुलर विभागका महानिर्देशक छुई आइमिनले संयुक्त रूपमा छङ्तुको नेपाली महावाणिज्यदूतावासको ताम्रपत्र अनावरण गरी समुद्घाटन गरेका हुन् ।
छङ्तुमा स्थापित यो महावाणिज्यदूतावासअघि राजधानी बेइजिङमा राजदूतावासबाहेक क्वानचौ, ल्हासा तथा विशेष प्रशासनिक क्षेत्र हङकङमा महावाणिज्यदूतावास रहेका छन् भने साङहाईमा अवैतानिक दूतावास छ ।
चिनियाँ संस्कृति तथा खानाका लागि प्रसिद्ध छङ्तु सहर पर्यटन क्षेत्रमा पनि नामी छ, वर्षेनी लाखौँको सङ्ख्यामा विश्वभरबाट पर्यटकहरू ओइरिने गर्छन् । साथसाथै भगिनी सम्बन्ध स्थापित नेपालको राजधानी काठमाण्डु र छङ्तुबीच चिनियाँ तथा नेपाली वायुसेवाले दैनिक रूपमा भर्दै आएको उडान हाल कोभिड-१९ महामारीका कारण भने स्थगित छ ।
उक्त समुद्घाटन कार्यक्रममा चीनका लागि नेपाली राजदूत पाण्डेले महावाणिज्यदूतावास परिसरमा नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्ज्वलन गरेका थिए । सो अवसरमा राजदूत पाण्डेले यस महावाणिज्यदूतावासको स्थापनाले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विचार व्यक्त गरे । यसै गरी, सो समारोहमा उपस्थित सछ्वान प्रान्तीय सरकारका उप-गभर्नर लि युनचले यस महावाणिज्यदूतावासको स्थापनाले व्यापार, लगानी, पर्यटन तथा जनस्तरीय आदानप्रदानलाई अझै सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
यसै गरी, चीनको परराष्ट्र मन्त्रालयमातहत कन्सुलर विभागका महानिर्देशक छुई आइमिनले पनि यस महावाणिज्यदूतावासको स्थापनाले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विचार राखे । कार्यक्रममा, नेपाली महावाणिज्यदूत दिनेश कुमार घिमिरेले उपस्थित सबैमा कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा राजदूत महेन्द्र बहादुर पाण्डे, सछ्वान प्रान्तीय सरकारका उप-गभर्नर लि युनच, छङ्तु नगरपालिकाका मेयर वाङ फङछाओ, चीनको परराष्ट्र मन्त्रालयमातहत कन्सुलर विभागका महानिर्देशक छुई आइमिन, महावाणिज्यदूत दिनेश कुमार घिमिरेलगायत सछ्वान प्रान्तीय सरकारका पदाधिकारी, छङ्तु नगरपालिकाका पदाधिकारी तथा विशिष्ट चिनियाँ अधिकारी र व्यवसायी तथा पत्रकारको उपस्थिति थियो ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया