डाँगीलाई विद्यालय जान उमेरले छेकेन, ९० वर्षमा कक्षा १ मा भर्ना

तुलसीपुर (दाङ)- पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।
उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनले भने, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”
घरमा पनि उहाँ नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उनी एकलरूपमा घरमा बस्दै आएका थिए । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनले भने, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”
उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उनले भने, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए ।
उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उनले भने, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”
विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताए । रासस

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया