बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन सर्वोच्च जाँदै

काठमाडौँ  : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज बिहान १० बजेपछि सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । रिटका सबै आवश्यक काजगाज आइतबार नै तयार गरेर विपक्षी गठबन्धनले आज रिट दायर गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा)को डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सांसद सर्वोच्च जान लागेका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षीहरुले त्यसविरुद्ध रिट दायर गर्न लागेका हुन् । आइतबार सांसदहरुको हस्ताक्षर संकलन गरेर नभ्याइने भएपछि आज रिट दायर गर्न लागेका हुन् ।