बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

काठमाडौंमा मुख्यमन्त्रीको दौडधुप

काठमाडौं : सत्तारुढ नेकपाबाट मुख्यमन्त्री भएकाहरु पार्टीमा चर्कदो अन्तरकलह मिलाउन काठमाडौँमा ब्यस्त छन् । उनीहरु आफ्ना नेताहरूसँग आन्तरिक छलफलमा दिनहु जुटेका छन् । प्रदेशको काम भन्दा उनीहरु दलको काममा काठमाडौंमा ब्यस्त बनेका हुन । 

विषेश गरी मुख्यमन्त्रीहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, शेरधन राई र डोरमणि पौडेल यसमा सक्रिय छन् । उनीहरु काठमाडौंमा नै ब्यस्त रहेका हुन । यद्यपि पौडेललाई भने यो समयमा सक्रिय हुन स्वास्थयले साथ दिएको छैन । 

सातै प्रदेशमा मुख्यमन्त्रीसँग प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार छुट्टै छलफल गर्नेछन् । अहिलेको प्रदेशको अवस्था अनि आन्तरिक राजनीतिको बारेमा समेत छलफल गर्ने तय भएको छ । 

मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका हेरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको सञ्चालनदेखि दलभित्रको कुराकानीका लागि यस्ता छलफलहरु हुनु सामान्य भएको बताए । ‘औपचारिक/अनौपचारिक छलफलहरू भइरहनुपर्छ’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘अहिले पनि त्यस्तै छलफलहरु भएका होलान् ।’ 

सबै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले पहिले पनि यसप्रकारको छलफल गर्ने गरेकाले यो नौलो विषय नभएको र पार्टीभित्रको कलहमा यो विषय नजोडिएको समेत एक अर्का नेताले बताए ।