सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

साता दिन बित्दा पनि पूर्ण रूपमा सुचारु हुन सकेन भीमदत्त राजमार्ग

पहिरोले चार सय मिटर सडकमा क्षति, पाँच वटा डोजर लगाएर राजमार्ग सुचारु गर्ने प्रयास

कैलाली- पहिरोका कारण एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग पूर्ण रूपमा सुचारु गर्न सकस भइरहेको छ । निरन्तर वर्षासँगै स–साना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग सुचारु गर्न समस्या भइरहेको हो । पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिए पनि अहिले यातायात सेवा ठप्प छ ।

कैलालीको गोदावरी र बुढीतोलामा गत सोमबार राति पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको थियो । पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ । त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त बनेको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख होमप्रसाद सुवेदीले हिलोका कारण केही ठाउँमा समस्या भए पनि केही समयका लागि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको बताए । आइतबार बेलुकी, सोमबार र मंगलबार (आज) १२ बजेसम्म यात्रुवाहक र मालवाहक सवारीसाधन ओहोरदोहोर गरेको बताए ।

ठूलो पहिरो गएको र करिब सय मिटर सडक बगेकाले दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजनले जनाएको छ । बर्खापछि मात्र दोहोरो यातायात सञ्चालन गर्न सकिने सुवेदीले जानकारी गराए । सडक डिभिजनले पाँच वटा डोजर लगाएर राजमार्ग सुचारु गर्ने प्रयास गर्दै आएको छ ।

भन्नलाई यो देशमा ७६१ सरकार छन् । एक संघीय । सात प्रदेश र ७५३ स्थानीय सरकार । तर, नागरिकका दुःख र विपत्तिमा यी भएको वा यी हुनु र नहुनुको कुनै महसुस नै हुँदैन । भीमदत्त राजमार्ग अवरुद्ध भएको साता नाघ्यो । खुल्छ । बन्द हुन्छ । समाचार आउँछ, आंशिक खुल्यो । राजमार्ग पुनः अवरुद्ध भएको फेरि अर्को समाचार आउँछ । राजमार्ग खुलेको समाचार सुनेर उत्साही नागरिक अर्को समाचारले निराश हुन्छ । यो श्रृंखला हप्तादिन देखि जारी छ ।

भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडक खण्डका थुप्रै स्थानमा गएको पहिरो र ठाउँ-ठाउँमा भासिएका सडक मर्मत संभार कार्य जुन गतिमा हुनुपर्थ्यो, त्यो हुन सकेन । र, अर्कोतिर वर्षा नरोकिएका कारण पहिरो र लेदो खस्ने क्रम जारी रह्यो । साता दिन बित्दा पनि सडक पूर्ण रूपमा सुचारु हुन नसक्नुका यी प्रमुख कारण हुन् ।

हो, दैवी विपत्ति वा प्रकोप कसैको वशमा छैन । कसैको नियन्त्रणमा छैन । तर, सरकार उत्तरदायी र गम्भीर भएको भए यसबाट हुने मानवीय क्षति र त्यसबाट नागरिकमा पर्ने प्रभाव कम गर्न भने पक्कै सकिन्थ्यो । अवरुद्ध सडक खोल्न राज्यले पर्याप्त स्रोत, साधन र जनशक्ति नलगाउनु दुर्भाग्य हो । संघीय सरकारको राजधानी काठमाडौँ र सिंह दरबारमा बस्नेहरूको नजर त अवरुद्ध भीमदत्त राजमार्गमा परेन, परेन । प्रदेश सरकारकै पनि नजर नपर्नु बिडम्बना हो । यस्तै हो भने किन चाहियो प्रदेश सरकार ? अनि संघीय सरकारलाई सुदूरपश्चिमले किन मानिरहनु पर्यो ? स्थानीय सरकारको उदासीनता त झन उदेक लाग्दो छँदैछ ।

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा औषधि लगायत अत्यावश्यकीय सामग्रीको अभाव भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । पहाडी जिल्लाबाट उपचारका लागि तराई झर्नेहरू बिलखबन्दमा परेका छन् । उपचार नपाएर मर्नु सुदूर पहाडका जिल्लाका नागरिकको नियति बनेको छ । तरकारी बाटोमै सडेको छ । कुखुरा व्यवसायीहरूले व्यहोरिरहेको आर्थिक क्षतिको लेखाजोखा छैन ।

प्रदेश सरकार भन्छ, राजमार्ग संघीय सरकारको मातहतमा पर्छ । त्यसको मर्मत संभार र निर्माणको दायित्व संघीय सरकारको हो । स्थानीय सरकार अरु बेला अधिकारको चर्का कुरा गर्छ । विकासका रुमानी सपना देखाउँछ । तर, आफ्नै भूगोल र शासनभित्र छट्पटाइरहेका नागरिकको जीवन र उसको सुविधाप्रति जिम्मेवार हुँदैन । भन्छ, हामीसँग न त अधिकार छ । न त बजेट ।

संघीय संसद्, प्रदेश संसद् र स्थानीय सरकारको नेतृत्व गर्नेहरू यही प्रदेशका जनताको मतबाट निर्वाचित भएका हुन् । कुर्चीमा पुगेपछि यो कुरा समेत बिर्सिसकेका छन् । भीमदत्त राजमार्ग अवरुद्ध भएपछि पहाडी जिल्लाका कैयौं स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरूले यही सडक भएर ओहोरदोहोर गरे । तराईबाट गाडी बोलाउने अनि पहाडबाट तराई झर्ने । पहाडबाट गाडी बोलाउने, अनि अवरुद्ध भएको सडक पैदल पार गरेर गाडी चढेर पहाड उक्लिने यो क्रम जारी छ । तर, उनीहरू समेत यो सडक खोल्न उदासीन रहे । 

प्रधानमन्त्री यो भूगोलका पनि हुन् । तर, उनलाई यो भूगोलको पीडाले छोएन । अवरुद्ध सडकमा मुख्यमन्त्री र मन्त्रीहरूको सवारी चल्छ । तर, सडक खोल्न निर्देशन र आदेश चल्दैन । अवरुद्ध भीमदत्त राजमार्ग एक सातासम्म नखुल्नु तीनै तहका सरकारको अकर्मण्यता, उदासीनता र गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।

तीनै तहका सरकार भीमदत्त राजमार्ग खुल्न एक ठाउँमा उभिन आवश्यक छ । तीनै तहका सरकारका बीच सहकार्य, समन्वय र साझेदारी यो सडकको मर्मत संभार र निर्माणमा जति आवश्यक छ । त्यति नै आवश्यक छ, वैकल्पिक मार्गका रूपमा महाकाली काेरिडर, सेती लोकमार्ग र कर्णाली काेरिडरको निर्माणमा सहकार्य, साझेदारी र समन्वय गर्न ।