युवा सांसदलाई राखेर विराटनगरका उद्योगी व्यवसायीले सोधे : सानो गल्तीमै ‘थुन्ने कि सुन्ने ?’

विराटनगर- उद्योग व्यवसाय सञ्चालनका क्रममा सानातिना गल्तीहरूमा पनि सरकारले विभिन्न बहाना बनाएर पक्राउ गर्ने र उद्योगीहरूलाई हतोत्साहित गर्ने काम गरेको भन्दै त्यसका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले ‘थुन्ने कि सुन्ने’ भन्दै प्रश्न उठाएका छन् ।
केही घटनाहरूमा नाम जोडिने बितिक्कै उद्योगी व्यवसायीहरूलाई मात्रै पक्राउ गर्ने तर नीतिगत निर्णय गर्ने राजनीतिक दलका नेताहरूमाथि केही कारबाही नभएको भन्दै उद्योगी व्यवसायीहरूले बहस सुरु गरेका हुन् । शुक्रबार विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा उद्योगी व्यवसायीहरूले प्रमुख राजनीतिक दलसम्बद्ध युवा नेताहरूलाई राखेर बहसको थालनी गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, नेकपा एमालेका एलपी सावा लिम्बू, माओवादी केन्द्रका माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झालाई राखेर उद्योगी व्यवसायीहरूले आफ्नो पीर मर्का सुनाए ।
संगठनका अध्यक्ष राकेश सुरनाले निजी क्षेत्रलाई राज्यबाट अनावश्यक रूपमा त्रास सिर्जना गर्ने गरेको बताए । सरकारका अनेकौं खालका नीति र नियमका कारण उद्योगीहरू लगानी बढाउन उत्साहित नदेखिएको अनुभव सुनाए । बढ्यो युवा पलायनपनि सरकारकै नीतिका कारण सिर्जना भएको भन्दै कानुनलाई सहज बनाउँदै स्वदेशमै उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने उनले सुझाव दिए ।
काम गर्दै जाँदा भएका गल्ती कमजोरीलाई सच्याउने ठाउँ दिनुको साटो सरकारका निकायहरूले उद्योगीहरूलाई अपराधी सरह व्यवहार गर्दै धरपकड समेत गरिरहेको गुनासो गरे । सुरनाले आरोपकै भरमा उद्योगी व्यवसायीहरू अपराधीजस्तो थुनिनुपर्ने अवस्थाको अन्त्य गर्न युवा सांसदहरूमार्फत सरकार र संसदमा लविङ गर्नुपरेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आयातमुखी अर्थतन्त्रमा मात्रै भर परेर देशको विकास नहुने बताए । उनले निजी क्षेत्रमैत्री, विदेशी लगानीमैत्री नीति बनाउन आफूहरूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । त्यसका लागि भएका कानुनलाई सुधार गर्दै जाने र उद्योगी व्यवसायीहरूलाई लगानीमैत्री वातावरण तयार पार्ने नेता पौडेलले प्रतिबद्धता जनाए ।
नेकपा एमालेका सांसद एलपी साँवा लिम्बुले नेपालमा अर्थतन्त्रको आकार ५३ अर्ब ८१ अर्ब भएकोमा ४३ खर्ब ८८ अर्बको योगदान निजी क्षेत्रकै रहेको बताए । यस्तो आर्थिक अवस्थामा सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेर जानै नसक्ने बताए ।
उद्योगधन्दा चलाउने निजी क्षेत्रलाई राजनीतिक क्षेत्रबाट हेर्ने दृष्टिकोण नै गलत रहेको बताए । उनले उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा उल्टो हतोत्साहित बनाउने नीति परिवर्तन गर्नु आवश्यक रहेको नेता साँवाले बताए । तर, निजी क्षेत्र पनि बढी मुनाफामुखी हुन नहुने उनले सुझाव दिए ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक आन्दोलनलाई मात्रै उपलब्धि मान्दा आर्थिक क्षेत्र ओझेलमा परेको बताए । उनले मुलुकको भ्रष्टाचार र बेथिति अन्त्य गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक अस्थिरताको सिकार नै निजी क्षेत्र भएको बताए । आफू पनि कुनै न कुनै रूपमा उद्यमशील रहेको उदाहरण दिँदै झाले निजी क्षेत्रलाई सधैंभरी चन्दा दिने स्रोत मान्ने राजनीतिक दृष्टिकोण फेर्न निजी क्षेत्रले पनि अब फरक ढंगले सोच्नुपर्ने बताए ।
मुलुकको शासन व्यवस्थाले सबै कुरा सिंहदरबार केन्द्रित गर्दा समेत आर्थिक क्षेत्रको विकासमा केन्द्रित जटिलता हट्न नसकेको उनले दाबी गरेका थिए ।
कार्यक्रममा सहभागी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालसहित युवा उद्योगी व्यवसायीहरू, ढुवानी व्यवसायी, ट्रक व्यवसायी लगायत निजी क्षेत्र सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया