शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

यिनका यस्तै कृत्यले संघीयताप्रति नागरिकमा वितृष्णा बढ्दै

'के निहुँ पाउँ कनिका मुक्याउँ' भनेजस्तै छिसिक्क केही भयो कि एमालेले दुवै संसद् अवरोध गर्दै आएको छ । संसद् अवरोध भएपछि सरकार र अन्य सत्तारूढ घटकका नेताबीच खुसामद हुन्छ र गोप्य सहमति बन्छ । अनि बाहिर सतहमा आएका काण्डहरूले नाटकीय मोड लिन पुग्छन् । ललित निवास काण्ड चर्कियाे । नक्कली भुटानी शरणार्थी पनि चर्कियाे । अब आएर क्विन्टल सुन काण्ड चर्किरहेको छ । यी तीनवटै काण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यानाकर्षण गरिरहेका बेला कुनै न कुनै बहानामा संसद् अवरुद्ध हुन्छ । अनि मुखरित भएका काण्डहरू बिस्तारै सेलाउँदै जान्छन्, जसरी नक्कली भुटानी काण्ड यतिखेर सेलाइसकेको छ ।

यता प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध हुने, उता विधेयकहरूको चाङ संसदमा लाग्ने, त्यसमाथि कुनै छलफल र लेखापढी नै नहुने । तर, तलब र भत्ता भने खाइरहने । बैठक अवरुद्ध गरेपछि कुन नैतिकताका आधारमा सांसदहरू भत्ता लिइरहेका छन् । हुन त यी नेता तथा सांसदहरूमा लाज भन्ने कुनै जिनिस पनि हुन्छ र भन्ने खालका छन् । नैतिकता त धेरै उच्च श्रेष्ठताको कुरा भयो । संसदमा हाजिर गरेर टाप ठोक्ने, छलफलमा भाग नलिने, जनताले भोगेका पीडा, मर्काबारे नबोल्ने अनि भत्ताचाहिं लिने । त्यसमाथि संसदै अवरुद्ध हुँदाको बैठक भत्ता पनि खाने ।

गत पुस २५ गतेदेखि सुरु भएको संसदको अधिवेशनदेखि हालसम्म सांसदहरूका लागि राज्यकोषबाट २६ करोड ९० लाख रुपैयाँ बुझेको संसद् सचिवालयको तथ्यांकमा छ । तलब, भत्ता, विदेश भ्रमण भत्ता मात्रै यति हो । अझ यिनका सचिवालय खर्च, संसदीय दलको कार्यालयको खर्च, इन्धनसमेत जोड्ने हो भने यो रकम अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । तर, बजेटसँग सम्बद्ध विधेयकबाहेक अन्य महत्वपूर्ण र अत्यावश्यक विधेकहरू अलपत्र छन् । यहाँसम्म कि मिटरब्याज पीडितहरूलाई राहत दिलाउने उद्देश्यले दर्ता भएको प्रतिस्थापन विधेयक पनि पारित भएन । संसदको काम कानुन बनाउने हो । विधेयक पारित गर्नुअघि अध्ययन गर्ने, प्रस्तावित दफाले मुलुक र नागरिकमाथि पर्न सक्ने प्रभावका सम्बन्धमा विश्लेषण गर्ने, विषय विज्ञहरूसँग छलफल गर्ने लगायतका कृत्य संसदीय समितिमा आउनु पर्छ । तर, संसदीय समितिहरू सभापतिविहीन छन् । ज्येष्ठताका आधारमा समिति बैठक बोलाउँदा कोरम नपुगेर स्थगित हुँदै आएको छ । संसद चलेको बेला सांसदहरू उपस्थिति अति न्यून हुने गर्छ । बल्ल बल्ल कोरम पुग्ने गर्छ । यसले गर्दा आमनागरिकका पीर, मर्काप्रति यी सांसदहरूको रुचि निकै कम रहेको देखिन्छ ।

संसदमा सांसदहरूले उठाएका विषयमा सरकार गम्भीर नबन्ने, संसदीय समितिले दिएका निर्देशन नटेर्ने, सांसद र संसदीय समितिहरूलाई हेप्ने कृत्य पनि सरकारबाट नभएका होइनन् । सांसदलाई नागरिकका करबाट तलब भत्ता मात्र खुवाउने, भ्रमण गराउने, विदेश शयर गर्न जाने मात्र हो भने संसदीय व्यवस्थाकै औचित्यमाथि प्रश्न उठ्छ । त्यसै त देशभर सांसद नै सांसद छन् । संघ र प्रदेश गरी देशभर ८ सय ८४ जना त सांसद छन् । संघ र प्रदेश गरी मन्त्री संख्या मात्रै एक सय ३३ छ ।

यिनीहरूको पालन पोषण गर्न जनताले तिरेको करले पुग्दैन, आन्तरिक ऋण लिनुपर्छ । सार्वजनिक ऋण नै २३ अर्ब रुपैयाँ पुग्न लागिसकेको छ । प्रतिव्यक्ति ऋण ७६ हजार रुपैयाँ पुगिसकेको छ । तर, ऋण लिएर र कर तिरेर कुनै विकास निर्माण हुँदैन । दैनिक २ हजारको संख्यामा युवाहरू विदेशिन्छन् । यता हरेक काण्डैपिच्छे संसद् अवरुद्ध भइरहन्छ । भइरहेको संसद् दुई/दुई पटक विघटन गरेको एमालेले चलिरहेको संसद् भने पटक पटक अवरुद्ध गर्छ । 

एमालेका लागि संसद् विघटन सामान्य हो । २०५७ सालमा लाउडा प्रकरणलाई लिएर ५७ दिन संसद् अवरुद्ध गरेको एमाले आफैँ सरकारमा पुगी त्यस्तै काण्ड (चाइना साउथ वेस्ट काण्ड र वाइडबडी काण्ड, तत्कालीन मालेका तर्फबाट पर्यटनमन्त्री बनेका यमलाल कँडेलको पालामा चेज एयर काण्ड) मच्चाएको थियो ।

अहिले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै संसद् अवरुद्ध गरेको एमालेले आफूले मच्चाएका काण्डहरू बिर्सिएको छ, मानौं एमालेले कुनै काण्ड नै मच्चाएको थिएन । अवैध सुन बरामद र त्यससँग सम्बद्ध व्यक्ति पक्राउ गर्दा एमाले भातृ संगठन राँके जुलुश गर्छ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको आवाज उठाउने थलो भने बन्द गर्छ । अनि अवरुद्ध भएको संसदको बैठक भत्ता र तलब भने सांसदहरू छाड्दैनन् । नेता र सांसदहरूका यी कृत्यका कारण संघीयताप्रति नै नागरिकहरूलाई वितृष्णा लाग्न थालिसकेको छ— के नेता र तिनका कार्यकर्तालाई जनताले तिरेको करबाट भरणपोषण गर्न मात्रै ? तलब, भत्ता, सुविधा लिइसकेपछि अलिकति मुलुक र मुलुकवासीका लागि पनि गर्नुपर्छ भन्ने सोच समेत आएन ?