शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

धनगढीमा वडा स्वास्थ्य क्लिनिकबाट एक बर्षमा ४५ हजार लाभान्वित

कैलाली - धनगढी उपमहानगरपालिकामा संचालित ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट एक बर्षमा ४५ हजार बढी बिरामी लाभान्वित भएका छन्। २०७९ साउन १ गतेबाट उपमहानगरपालिकाका १९ ओटै वडामा सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुचारु भएको थियो।

गत वर्ष धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो। क्लिनिकमा एक वर्षको अवधिमा ४५ हजार ६ सय ८९ बिरामीले विशेषज्ञ सेवा पाएका छन्।

विशेषज्ञ चिकित्सकीय सेवाका लागि बिरामीले धनगढीस्थित सेती अस्पताल आउनुपर्ने बाध्यता छ। उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले चुनावी एजेन्डामै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सेवा सुरु गर्ने कार्यक्रम राखेका थिए।

उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा गत आवको पहिलो दिनमा नगरप्रमुख हमालले सुरु गरेका थिए। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए।

नगर प्रमुख हमालले आफू चढ्ने गाडीलाई समेत वडा क्लिनिक कार्यक्रम सञ्चालनका लागि दिएर विपन्न नागरिकको स्वास्थ्य उपचारमा थप योगदान पुर्‍याएका छन्। उपमहानगरको १९ वडा नम्बरबाट सुरु क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन हुँदै आएको छ।

साथै वडा क्लिनिक सेवालाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले विद्युतीय गाडी नै खरिद गरेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकिएको छ। १५ सिट क्षमताको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको नगर प्रमुख हमालले बताए ।