शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

जसपाकी सांसद लिम्बु भन्छिन्- ‘कोशी’ नाम फिर्ता लिने लिखित सहमति नगरे एक महिनामै सरकार ढल्छ

विराटनगर- मंगलबारमात्रै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्तिमा समर्थन दिएको जनता समाजवादी पार्टी संसदीय दलकी नेता निर्मला लिम्बुले प्रदेशको नाम ‘कोशी’ फिर्ता लिने लिखित सहमति नगरे एक महिनाभित्रै सरकार ढल्ने चेतावनी दिएकी छन् ।

उनले अहिले मौखिक समर्थनका आधारमा मात्रै थापालाई मुख्यमन्त्रीमा समर्थन गरेको बताएकी हुन् । लिखित रुपमा नाम फिर्ता लिने सहमति नगरे आफुले समर्थन फिर्ता लिने र एक महिनाभित्रै सरकार ढल्ने उनले बताइन् ।

९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याएर मुख्यमन्त्री बनेका थापालाई एक सिट रहेको जसपाको समर्थन रहेको छ । लिम्बुले पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधन गर्ने विश्वासमा जनता समाजवादीले सरकारलाई समर्थन दिएको र लिखित रुपमा सहमति नभएसम्म सरकारमा पनि नजाने बताएकी हुन् ।

‘म अहिले काठमाडौँ छु, सरकारलाई समर्थन गरेको छु, तर लिखित रुपमा प्रतिवद्धता चाहियो भनेको छु’ लिम्बुले भनिन्, ‘मौखिक रुपमा वहाँले प्रतिवद्धता जनाउनु भएको हो, हामीले लिखित सम्बोधन गर्नुपर्छ भनेका छौं, एक महिनाभित्र गर्नुभएन भने विश्वासको मत फिर्ता लिन्छौं, फेरि सरकार ढल्छ ।’

असार २१ मा थापा पहिलो पटक मुख्यमन्त्री हुँदा पनि जसपाले शर्तसहित समर्थन निर्णय गरेको थियो । अहिले पनि सोही निर्णय यथावत रहेको संसदीय दलकी नेता लिम्बुले स्पष्ट पारिन् । उनले दलगत रुपमा समर्थन रहेपनि पहिचानको मुद्दालाई मुख्यमन्त्री थापाले लिखित रुपमा समर्थन गर्नैपर्ने बताइन् । लिखित समर्थन जनाए आजै सरकारमा जान पनि तयार रहेको बताइन् ।

‘यो हाम्रो पुरानै कुरा हो, कोशी प्रदेशको नाममा आफ्नो प्रदेशका जनताको टाउको फुटाएर हामी अघि बढ्न सक्दैनौं’ उनले भनिन्– ‘लिखित रुपमा हाम्रो मुद्दालाई सम्बोधन गरे आजै सरकारमा जान पनि तयार छौं, नभए एक महिनामा सरकार ढल्छ ।’

जसपाले असार १४ मै विज्ञप्ति निकालेर कोशी नाम खारेजी र पहिचानलाई सम्बोधन गरी पुनः नामकरण गर्नुपर्ने पार्टीको मुख्य एजेण्डाबारे बलियो राजनीतिक आधार निर्माण गर्न कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेको थियो ।