ठगी मुद्दामा पसलका साहुसरह पौने ५ करोड बिगो तोकिएका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

विराटनगर- झण्डै पौने ५ करोड रुपैयाँ बिगो तोकिएर झुम्का सुनसरीको झुम्का कारागारको कैदी बनेका गोपाल भनिने लालबहादुर विश्वकर्माले उच्च अदालतबाट सफाइ पाएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित बरमपुर फुलबारी टोलका विश्वकर्मा आफूले काम गर्ने इटहरीकै तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक परियारको ठगी धन्दाको सिकार भएका थिए ।
उनलाई जिल्ला अदालत सुनसरीले ठगी सम्बन्धी मुद्दामा बिगोवापतको ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँसहित डेढ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना भराउने आदेश दिएको थियो ।
मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीशहरू विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा जिल्ला अदालतको फैसलालाई उल्टाउँदै ज्वेलर्सका कामदार लालबहादुरलाई न्यायको अनुभूति गराएको हो ।
आफू निर्दोष भएको भन्दै लालबहादुरले जिल्लाको फैसलाविरुद्ध दायर गरेको मुद्दामा फैसला उल्टी भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए ।
लालबहादुरको पक्षमा मंगलबारको पेशीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले समेत बहस गरेकी थिइन् । यो मुद्दामा पटकपटक मुद्दा पेसीमा चढ्दै आएपनि मंगलबारको पेशीपछि अन्तिम फैसला आएको जनाइएको छ ।
ज्वेलर्सका सञ्चालक दीपक परियार सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ज्वेलर्सबाट सर्वसाधारणको सुन धरौटी राख्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बराबरको ठगी गरी फरार भएका थिए । पीडितहरूले सञ्चालकविरुद्ध मुद्दा दायर गर्दा लालबहादुरसहित पाँचजनालाई विपक्षी बनाउँदै सञ्चालक सरहको बिगो र कैद सजायको माग गरेका थिए ।
ज्वेलर्सका कालिगड रहेका लालबहादुर ज्वेलर्सका सञ्चालक दिपक परियारका बुबा कृष्णबहादुर परियारसँगै पक्राउ परेका थिए । पछि दीपक पनि पक्राउ परे । उनीहरूविरुद्ध जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसमा कृष्णबहादुर र उनकी छोरी सीतालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
लालबहादुरलाई २०७५ असार २५ मा दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्याको इजलासले २०७८ पुस १ मा फैसला गर्दा लालबहादुर पनि दोषी ठहर भएको आदेश दिएको थियो । सोही फैसलाका कारण लालबहादुर २०७९ मंसिर २१ गते पक्राउ परेर झुम्का कारागार चलान भएका थिए ।
२०७५ जेठ २० मा ज्वेलर्स सञ्चालक दिपकसहितको समूहले ५२ लाख ६६ हजार ठगी गरेको भन्दै सुकमति गुरुङसहित ९ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए । २०७२ सालबाट ज्वेलर्स चलाउन थालेका दिपकले आर्थिक प्रगति बढाउँदै लगेका थिए । उनले लालबहादुरलाई कामदार राखेर सिंहदेवी मनि ट्रान्सफर र सिंहदेवी इण्डष्ट्रिज प्रालि नामका दुई कम्पनी समेत खडा गरे ।
दिपकले भने कम्पनीसँग कारोबार गर्नेलाई सजिलोका लागि भन्दै पासबुक समेत बनाएर काम गराउन सुरु गरे ।
कतै पनि आर्थिक कारोबारको अनुमति नलिई कारोबार गरिरहेका दिपकले सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याजको लोभ देखाउँदै बचत पनि लिन थाले । धेरै ब्याजको लोभमा सर्वसाधारणबाट पैसा उठाएर दिपकले जग्गा कारोबारमा लगानी लगाए । तर, पछि दिपकको कारोबार बिग्रिन थाल्यो । उनले बचतकर्ताहरूलाई साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्था पुगेपछि एककान दुईकान हुँदै प्रहरीसम्म उजुरी पुग्यो । प्रहरीले ठगीको अनुसन्धान प्रकृया अगाडि बढायो । २७५ जनाको उजुरीको आधारमा १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ ठगिएको जाहेरी दर्ता भयो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत सुनसरीमा ठगी मुद्दा दर्ता भएर अनुसन्धान अघि बढ्यो ।
सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा ज्वलेर्स सञ्चालक दिपकसहित उनका बुबा कृष्णबहादुर, भाइ कमल र दिदी सीता विश्वकर्मासँगै कालिगढ लालबहादुरलाई प्रतिवादी बनाएर मुद्दा चल्यो ।
फरार रहेका कमललाई मुलतवीमा राखियो । बाँकी चार जनालाई दोषी ठहर गर्दै बिगोसहित कैद सजाय र जरिवाना पनि भराउने फैसला भयो । ठगीका मुख्य योजनाकार दिपकलाई तीन वर्ष कैद र ७० हजार जरिवाना भयो । कृष्णबहादुर, उनकी छोरी सीता र कामदार लालबहादुरलाई जनही एक वर्ष ६ महिना कैद सजाय र ७० हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालतले दिपकसहित कृष्णबहादुर, सीता र लालबहादुरबाट बिगो तोकिएको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँबाट दामासाईमा बिगो भराउन फैसला गर्यो ।
दिपक ज्वेलर्समा नभएको बेलामा पैसा बचत गर्न आउनेको विवरण पासबुकमा भर्न उनका बाबु कृष्णबहादुरले लालबहादुरलाई लगाउने गरेका थिए । सञ्चालकहरूको विश्वास र आग्रहका भरमा लालबहादुरले कञ्चन चौधरी र अन्जना राईको नामको पासबुकमा बचत जम्मा गर्दा आफैंले हस्ताक्षर गरिदिएका थिए ।
त्यही हस्ताक्षरको परिणाम उनको सामान्य परिवारका लागि करोडौं बिगो तिर्नुपर्ने गरी कैद र जरिवानाको सिकार भयो । बकपत्रमा पनि आफू कामदार मात्रै भएको लालबहादुरले बयान दिए तर उनी फैजदारी कानुनीमा दोषी नै देखिए ।
३३ वर्षीय लालबहादुर निर्दोष भएको भन्दै सामाजिक अभियन्ताहरूले उनको न्यायका लागि अभियान चलाएका थिए । उनको रिहाइका लागि सामाजिक सञ्जालहरूमा ‘जस्टिस फर लालबहादुर बिक’ भन्नै अभियान नै चल्यो । यो कुरा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्मै पुगेपछि उनले पनि चासो देखाए । अभियन्ताहरूले अरु धेरै राजनीतिकर्मीहरूलाई लालबहादुर कानुनी रूपमा मात्रै फसेको सन्देश दिएका थिए । लालबहादुरको न्यायका लागि भएको चौतर्फी दबाबमूलक अभियानलाई कानुनको छोपिएको आँखाले पनि आज देख्यो ।
बाबुबाट अंशमा पाएको ५ धुर जग्गा र त्यसमा बनेको घरसहित सिरिखुरी सम्पति बेच्दा पनि जरिवाना र बिगो भर्ने अवस्थामा नरहेको लालबहादुरले मंगलबार न्यायलयबाटै नयाँ जीवन पाए ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया