फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने
एक अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौँ- नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले केन्द्रलाई जलविद्युत् संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि.लाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने छन् ।
काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युतगृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिने छन् । जलविद्युत् केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी संग्रहालयका रूपमा विकास गरिने छ ।
परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।
प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतगृहलगायतका संरचनाहरूको अवस्थाका बारेमा अवलोकन गरेका थिए ।
मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रूपमा विकास गरिनु पर्ने बताए । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।
ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्दर्यलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलका रूपमा विकास गरिनु पर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलका रूपमा विकासका कार्यहरू अगाडि बढाइने उल्लेख गरे ।
फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।
केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर, त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया