हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न राजनीतिक दलहरूकाे आग्रह

मकवानपुर- मकवानपुरको हेटौंडामा रहेको प्रदेश स्तरको अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न नेकपा एमाले बाहेकका राजनीतिक दलहरूले आग्रह गरेका छन् ।
अस्पताल र प्रातिष्ठानको छुट्टाछुट्टै गरिमा रहेको भन्दै एक अर्कोमा विलय गराउने र विकासमा बाधा सिर्जना गर्ने तयारी भएको भन्दै तत्काल प्रतिष्ठान र अस्पताल अलग गर्न माग गरिएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसद्वारा गठित समितिले दुई महिनाको अध्ययनपश्चात् प्रतिष्ठानको बागमती प्रदेशबाट पास गरिएको ऐनमा हेटौंडा अस्पतालसँग जोडिएका विषयहरू सबै खारेज गर्न समेत अनुरोध गरेको छ ।
समितिले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म भने हेटौंडा अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न सक्ने तर त्यसपछि भने अलग गर्नै पर्ने सुझाव दिएको हो ।
'संविधानमा गरिएको व्यवस्था अनुसार हेटौंडा अस्पताल जनताका लागि निःशुल्क लगायतका स्वास्थ्य सेवा उपलब्ध गराउने एक मात्र संस्था भएकाले यसको अस्तित्व र सेवामा आँच आउने कुनै पनि कदम चालिनु हुँदैन,' पत्रकार सम्मेलनमा कांग्रेस सचिव तथा अध्ययन समिति संयोजक भीमसेन महतले भने ।
हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्दै विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै तीन सय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्न समेत समितिले माग गरेको छ ।
प्रतिष्ठानको उद्देश्य पूरा गर्न समितिले छिटाेभन्दा छिटो आवश्यक जग्गा उपलब्ध गराउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र स्वास्थ्य मन्त्री उत्तम जोशीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानको सम्पूर्ण क्षमताको अध्यापन नगराउँदासम्म पाँच सय बेडको अस्पताल आवश्यक पर्ने भएकाले सोही क्षमताको अस्पतालको योजना बनाएर तत्काल काम सुरु गर्न अनुरोध गरेको छ ।
बागमती प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता भइसकेपछि स्थापना भएको मधेशमा एमबीबीएसमा पढाइ सञ्चालन भइसकेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरूपको काम तीब्र रूपमा अगाडि बढाउन जरुरी रहेको नेकपा एस सचिव ध्रुब भुजेलले बताए ।
समितिमा सदस्य तथा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, नेकपा एस सचिव ध्रुब भुजेल तथा विज्ञ सदस्यका रूपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल समेतको टोलीले अस्पतालको बारेमा अध्ययन गरेको थियो ।
प्रतिष्ठान अन्तरगत आएपछि हेटौंडा अस्पताल सर्वसाधारणको आर्थिक पहुँचबाट पर भएको निवर्तमान अध्यक्ष पौडेलले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था नगर्दा हेटौंडा अस्पतालबाट दुई साता झण्डै २ सय कर्मचारी कटौती भएका छन् ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया