प्रदेश सरकार नीतिगत निर्णयबिना नै अघि बढेको मुख्यमन्त्रीकाे टिप्पणी
'न बजेट बनाउँदा हेरिन्छ, न कार्य गर्दा ध्यान दिइन्छ'

मकवानपुर- बागमती प्रदेश सरकारले मध्ये साउनमा विकास समस्याबारे समीक्षा गरेको छ । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकार नीतिगत निर्णयबिना नै अघि बढेको टिप्पणी गरेका छन् ।
आफैँले प्रदेश सरकार डो-याइरहेका मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकार कुनै नीतिगत निर्णयबिना नै हिँडिरहेको आफैँ सार्वजनिक गरे । प्रदेशको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा समीक्षा कार्यक्रममा मुख्यन्त्री जमकट्टेलले यस्तो स्वीकार गरेका हुन् ।
'नीतिगत कुरामा कमजोर भएको आभास भएको छ, मन्त्रीहरू जोजो आए पनि, सचिवहरू जो जो आएपनि ५ वर्षमा गर्ने कामको आधार एकै हुनुपर्छ, ५ वर्षमा हामीले के के काम गर्ने भन्ने नीतिगत स्पष्टता नै छैन, हामी के गर्दछौंं,' उनले भने, 'अब दोस्रो आवधिक योजना बनाउने चरणमा छौं, मन्त्रालयको सचिव र कार्यालय प्रमुखबीचमा बसेर यो नीति बनाउने तयारी गर्नुहोस् ।'
यस्तो योजना आर्थिक वर्ष सुरु हुनु पूर्व नै बन्नु पर्दथ्यो । अघिल्लो आर्थिक वर्षमै नीति तथा कार्यक्रम बन्नु पर्नेमा मुख्यमन्त्री स्वयं नै बजेट सार्वजनिक भैसकेको र आर्थिक वर्ष समेत सुरु भइसकेको अवस्थामा यस्तो सवाल आफैँ बाहिर ल्याएका हुन् । उनको यस्तो टीप्पणीले प्रदेश सरकारको कार्य नीति कति प्रभावकारी छ भन्ने छर्लङ भएको छ ।
विषयगत मन्त्रालयहरू, महशाखाहरूमा समीक्षा गरेर नीति तथा कार्यक्रम बनाइनु पर्ने थियाे, यसै अनुसार बजेट ल्याइनु पर्थ्यो, अब यतिबेला मुख्यमन्त्रीले यस्तो टिप्पणी दिएका छन् । 'समयमा नै नीतिगत निर्णय बनाउनु पर्थ्यो, हामी चुकेका छौंं, नीतिगत निर्णयहरू छैन, काम गर्न खोज्यो योजना कहाँ छ, थाहै छैन,' मुख्यमन्त्री जमकट्टेलले भने, 'न बजेट बनाउँदा हेरिन्छ, न कार्य गर्दा ध्यान दिइन्छ ।'
प्रदेश सरकारले कुन जिल्लाको कुन क्षेत्रमा के के गर्ने भन्ने बारेमा पटक-पटक यो सबाल उठाउँदै आएको उनले जिकिर गरे ।
बजेट बनिसकेपछि मुख्यमन्त्रीले सचिवहरूलाई नीतिगत रूपमा स्पष्ट हुन निर्देशन दिइरहँदा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरू भने मुखामुख गरिरहेका देखिन्थे ।
उनले सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ जिल्लामा मन्त्रालयले सेवा दिने विधिमाथि प्रश्न गरेका थिए । विशेष गरी सानोतिनो कामको सम्झौता गर्न, नवीकरण गर्न पनि सर्वसाधारणलाई राजधानी आइपुग्नु पर्ने बाध्यता रहेको मुख्यमन्त्रीले स्वीकार गरे । 'सम्झौता गर्दा नै खर्च हुन्छ, भोलि त्यै कार्यक्रमको बजेट प्रदेशको राजधानी आउँदा जाँदा भएको खर्चमा कटौती हुन्छ, यसैगरी हो संघीयता महँगो हुने,' उनले भने ।
१३ जिल्लाबाट नै सेवा दिन जिल्लागत सेवा कार्यालय स्थापना गर्न मन्त्रालयहरूलाई उनले निर्देशन दिएका छन् । यस्तो सेवा कार्यालय सामाजिक विकास मन्त्रालयमात्रै हैन सबै मन्त्रालयहरूको हुनु पर्ने उनले बताए ।
उनले प्रदेशको प्रदेश युवा परिषद्, खेलकुद परिषद् आवश्यक भएको भन्दै यि कार्यालयहरू संरचनागत बोझ भएको बताए । महाशाखाहरू बढी भएमा पनि हटाउने बताउँदै उनले युवा तथा खेलकुद परिषद् राख्दा दुवै काम हुने र ऐन बनाएर यि निकायहरू खारेज गर्ने बताए ।
सिटिइभिटिले तालिम दिएको युवा स्वरोजगार नभएको भन्दै अब प्रदेश मातहतकै सिटिइभिटी बनाउन प्रदेश सरकार लागि परेको उनकाे भनाइ छ ।
कार्यक्रममा प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशको २० वटा नमुना विद्यालयलाई बजेट नहुदा उपलब्धि नभएएको स्वीकार गरिन् । उनले पनि नीतिको खाँचो भएकै कारण प्रदेश सरकारको युवा वैज्ञानिक कोष सञ्चालन गर्नका लागि समस्या भएको बताइन् । 'सही संरचना छैन र ऐन बुझाइमा फरक पर्दा काम गर्न समस्या हुँदो रहेछ,' मन्त्री मोक्तानले भनिन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया