आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

१५३ सांसदको समर्थन जुटाएका ओलीले विश्वासको मत नलिनु आश्चर्य

काठमाडौँ : शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर अल्पमतको प्रधानमन्त्रीका रूपमा आफूले विश्वासको मत नपाउने भएपछि संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति समक्ष निवेदन दिएको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रक्रियामा प्रधानमन्त्री आफैंले दाबी गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले एमालेका १२१ र जनता समाजवादी दलका ३२ जना गरी १५३ सांसदको समर्थनमा ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गरेको बताएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै रूपमा पुनः नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री दाबी गरेको उल्लेख गरेका छन् । संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यको हैसियतमा मात्र यसरी बन्ने वैकल्पिक सरकारको प्रधानमन्त्री दाबी गर्न पाइन्छ । 

प्रधानमन्त्री ओलीले राजीनामा नगरी वा राष्ट्रपतिले उनलाई पदमुक्त नगरी सरकार गठनको नयाँ प्रक्रिया शुरु गर्न नपाइने वरिष्ठ अधिवक्ता शम्भु थापाले बताए । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी ‘मैंले विश्वासको मत पाउने अवस्था थिएन, त्यसैले मार्ग प्रशस्त गरेको भनेर रोइकराइ गर्नुले अहिले १५३ सांसदको समर्थन जुटाएँ भन्नु परस्परमा विरोधी अभिव्यक्ति रहेको’ संवैधानिक कानुनका जानकारहरू बताउँछन् । 

वैशाख २७ मा संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपतिले वैशाख ३१ मा संविधानको ७६ (३) अनुसार अल्पमतको सरकारका प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री भएपछि उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । आफूसँग बहुमत सांसद दाबी गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो बालुवाटारमा पत्रकार सम्मेलन गर्दै आफूले विश्वासको मत पाउन अवस्था नरहेकोले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै नयाँ प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई अनुरोध गरेको बताए ।

विपक्षी दलका नेताहरूले भने बहालवाला प्रधानमन्त्रीले राजीनामा नगरी वा उनी पदमुक्त नभई नयाँ प्रक्रियाबाट सरकार गठन आह्वान गर्ने राष्ट्रपतिको कदम संविधानसम्मत नभएको बताएका छन् ।

राष्ट्रपतिले दिएको २४ घण्टे समयसीमाभित्रै विपक्षी दलहरूले १४९ सांसदको हस्ताक्षर सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न मागदाबी गर्दै राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले धारा ७६ (५) अन्तर्गत सरकार गठनमा दलीय ह्वीप नलाग्ने भएकाले देउवालाई सत्तारुढ एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २७ सांसदले समर्थन गरेको बताएका छन् ।