शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

महिलालाई अपमान हुने गरि लोकसेवाको पुस्तक लेख्ने कर्मचारीलाई कारबाहीको माग

काठमाडौँ– प्रतिनिधिसभा सांसद इश्वरी घर्ती मगरले रामएकवाल दासकाे लोकसेवा तयारी पुस्तक सफलताको साथीमा महिलालाई अपमान महसुस हुने प्रश्न र उत्तर राखिएको भन्दै कारबाहीको माग गरेकी छिन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद घर्तीले लेखक सरकारी कर्मचारी भएकाले उनलाई निलम्बन गरि कारबाही गर्न माग गरेकी हुन् । 

‘नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृतको लोकसेवा तयारीको एउटा पुस्तक प्रकाशित भएको छ,’ उनले भनिन्, ‘त्यो लोकसेवा पुस्तकमा उहाँले यस्तो प्रश्न राख्नुभएको त्यसलाई म यहाँ राख्न चाहन्छु । राम एकवाल दासले लोकसेवा तयारी पुस्तक सफलताको साथी भन्ने पुस्तकमा ‘केटीलाई भालु किन भनिन्छ?’ भनेर पश्न सोध्नुभएको छ । उहाँले उत्तरमा पोथी भालुजस्तै व्यवहार भएर, पोथी भालुले एकपल्टमा धेरैसँग संसर्ग गर्ने भनेर, पोथी भालु बहुपति गामी हुन्छ भनेर, माथिका सबै ।’

नेपाल सरकारको जिम्मेवार बहालवाला जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता प्रश्न राख्दा महिलामाथि अपमान हुने मात्रै नभएर  महिलाहरूलाई गम्भीर आघात पुगेकोसमेत बताइन् ।

‘यो शब्दले नेपाल र विदेशमा बस्ने आम हाम्रा नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पु¥याएको छ । तसर्त यो पुस्तक लेख्ने रामएकवाल दासलाई तुरुन्त निलम्बन गरेर कारबाहीका लागि अगाडि बढाउन माग गर्छु ।’