युवाको लगानी, महानगरको ताला !

पोखरा- पोखरामा साउन ५ गते ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आयो । जहाँ १० कम्पनीका जुत्ता चप्पल एकै छानामुनि पाइन्थ्यो । कम्पनीबाट सिधै पसलमा आउने भएका कारण पनि अन्य ठाउँमा भन्दा केही सस्तो पर्थ्याे । यसले गर्दा ग्राहकहरू पनि निकै खुसी थिए ।
पोखरा फुटवेयर बिजनेस सेन्टरमा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता र चप्पल बिक्रीमा राखेका थिए । यो सेन्टरको गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरे । औपचारिक रूपमै स्थापनापछि ग्राहकको भीड बढेको थियो । तर, चलिरहेको पसलमा पोखरा महानगरले एक्कासी सटर लगायो ।
दर्ता नभएको कारण देखाउँदै सटर लगाएको महानगरले जनाएको छ । तर, युवा व्यवसायीहरूले झण्डै एक महिना अघिदेखि दर्ताका लागि निवेदन दिएकोमा महानगरले तामेलीमा राखेको बताएका छन् । बिजनेस सेन्टरमा जुत्ता चप्पलको बिक्री कक्ष राखेका दशवटै कम्पनीले घरेलु लगायतका कार्यालयमा दर्ता गरी पान नम्बरसमेत लिइसकेका छन् । तर, पोखरा महानगरले आफूहरूलाई व्यवसाय गर्न निरूत्साहित गरेको व्यवसायीहरूको आरोप छ ।
मेयर धनराज आचार्यले प्रलोभनमा परेर सटर बन्द गर्न उर्दी लगाएको व्यवसायी रुद्र न्यौपानेको आरोप छ । ‘हामीले ५ गते उद्घाटन गर्ने तयारी गरेका थियौं । सबैलाई निमन्त्रणा पठाएका छौं । त्यति बेला केही भन्नुभएन, आज अपर झट बन्द गराउनुभयो,’ उनले भने, ‘सहुलियत दरमा सामान बेच्दा अरुको व्यापार घट्ला भन्ने डरले बन्द गरिएको हो । यसमा सरासर नियत छ । कि उहाँ (मेयर) आर्थिक प्रलोभनमा पर्नुभो, कि भोटको राजनीतिमा लाग्नुभयो ।’
चार महिना अघि नै सोही युवाहरूले शोरुमको सट्टा जुत्ता प्रदर्शनी गर्ने तयारी गरेको थियो । सिद्धार्थ चोकमा प्रदर्शनी गर्न लाग्दा मेयर आचार्यले नै शोरुम खोलेर बेच्न सुझाव दिएको न्यौपानेले सुनाए । ‘सबै प्रदेशमा प्रदर्शनी गरिरहेका थियौं । पोखराको सिद्धार्थ चोकमा यस्तै प्रदर्शनीका लागि अनुमति लिन महानगर गयौं । तर, मेयरसावले प्रदर्शनी नगर्नुस् शोरुम खोल्नुस् भन्नुभयो,’ उनी अगाडि भन्छन्, ‘प्रदर्शनीलाई कानुनी रूपमा रोक्न मिल्दैनथ्यो तर हामी मिलेर जाऔं भनेर शोरुम खोल्यौं । मेयरलाई के कुरामा चित्त बुझेन थाहा छैन ।’
सुरुमा एउटै कम्पनीबाट १० जना युवाले छुट्टाछुट्टै पसल राख्ने र एउटै कारोबार चलाउने योजना बनाएर लगानी गरेका थिए । तर, महानगरले १० जनाले एउटै कम्पनीबाट जुत्ता बेच्न नदिने भन्दै १० जनाको छुट्टाछुट्टै कम्पनी बनाएर निर्देशन दियो । अनि उनीहरू सोही अनुसार अघि बढ्यो । तर, एउटै प्रक्रियाबाट दिएको निवेदनमध्ये विकास खत्रीको नाममा ‘नेपाली जुत्ता घर’ विधिवत् दर्ता भयो । सोही विधि र प्रक्रियाबाट दर्ता गर्न निवेदन दिँदा अन्य नौवटा कम्पनीको भने दर्ता रोकियो । अन्यको दर्ता प्रक्रियाका लागि महानगरले तामेलीमै राख्नु गलत भएको युवा व्यवसायी सविन कार्कीले बताए ।
प्रक्रिया पूरा गरेर आउनका लागि बन्द गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । ‘बन्द गरेर प्रक्रिया पूरा गरेर आउनुस् भनेका हौं,' उनले भने, ‘प्रक्रिया पूरा गरेर दर्ता भएपछि सञ्चालन गर्न पाउनुहुन्छ ।’
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया