अनुगमनमा गएका कर्मचारीहरुलाई सटरभित्रै थुन्ने मेडिकल संचालकहरुलाई कारबाही हुने

विराटनगर - स्वास्थ्य मन्त्रालयले देशैभरका औषधी व्यवसायको अनुगमनका लागि गरेको निर्देशन बमोजिम सोमबार सुनसरी सदरमुकाम इनरुवामा रहेका मेडिकलहरुको अनुगमनमा गएका कर्मचारीहरुलाई सटरभित्रै थुन्ने मेडिकल संचालकहरुलाई कारवाही हुने भएको छ । अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा नेतृत्वको टोलीमाथि हुलहुज्जत गरी मेडिकल संचालकहरुले अनुगमनमै बाधा पुर्याएका थिए ।
अनुगमन टोलीले मेडिकल पसलहरुको कागज पत्र जाँच गर्न थालेपछि व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकलको सटर बन्द गरेर झण्डै दुई घण्टा थुनेका थिए । दुई वटा मेडिकल अनुगमन गरेर विराट डाइग्लोसिस मेडिकल हलमा पुगेको टोलीलाई उनीहरुले थुनेको अनुगमनमा संलग्न टोलीले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको छ ।
अनुगमन टोलीमा प्रशासकीय अधिकृत खतिवडासहित जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरे, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईं लगायत सहभागी थिए । अनुगमन टोलीले इनरुवा नगरपालिकाकी उपमेयर विनिता मेहताका श्रीमानले योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकल अनुगमन गर्ने क्रममा विवाद भएको थियो । त्यहाँबाट पुनः अर्को मेडिकल पसलमा अनुगमन सुरु गर्न लाग्दा योगेन्द्रकै नेतृत्वमा मेडिकल संचालकहरुले दुव्र्यवहार गर्नुका साथै कर्मचारीहरुलाई थुनेका थिए ।
अनुगमन टोलीमा अवरोध भएको र मेडिकलका संचालकहरुले दुव्र्यवहार समेत गरेको जानकारीमा आएपछि तत्कालै थप प्रहरी टोली परिचालन गरेर कर्मचारीहरुलाई निकालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । उनले अनुगमनमा अवरोध भएकोले अवरोध गर्नेहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।
स्वास्थ्य मन्त्रालयको लिखित जानकारीका आधारमा अनुगमनकारी निकायहरुसँग समन्वय गरेर मेडिकलहरुको अनुगमन गर्ने क्रममा अवरोध भएको प्रजिअ पाण्डेले बताइन् ।
उनीहरुले अनुगमन टोली पुगेपछि मेडिकलको सटर बन्द गरेर असहयोग गरेका थिए । टोलीले अवरोधका वावजुद पनि १३ वटा मेडिकलको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले दर्ता नभई संचालन गरिएका औषधी पसलहरुका कारण मानिसको ज्यान समेत गइरहेको भन्दै औषधी ऐन २०३५ बमोजिम दर्ता भएका दर्ता भएका र नभएका औषधीहरुको अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम गरिएको अनुगमनका क्रममा इनरुवामा एक दुईवटा बाहेक सवै मेडिकलले प्रचलित कानुन विपरित संचालन भएको पाइएको भन्दै अनुगमन टोलीले प्रतिवेदन बुझाएको छ ।

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

प्रतिक्रिया