'भारतले अरु खोप उत्पादक मुलुकसँग मागेर भए पनि छिमेकी देशलाई खोप उपलब्ध गराउनु पर्छ'

काठमाडौँ : नेपालमा मात्रै होइन, भारत, बंगलादेशलगायतका दक्षिण एसियाली मुलुक कोभिड-१९ को दोस्रो लहरबाट अत्याधिक प्रभावित बनेका छन् । मृत्य हुने र संक्रमणमा पर्नेको संख्या नियन्त्रणमा आएको छैन । खोप उत्पादक भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपाल, बंगलादेश लगायतका मुलुकले खोप लगाउने अभियान जारी राख्न सकेका छैनन् ।
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टिच्युटले आफूले अझै केही महिना खोप निर्यात नगर्ने बताइसकेको छ । बेलायती अखबार दी फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख भएअनुसार सिरमले सन् २०२१ को अन्त्यदेखि मात्रै खोप निर्यात गर्ने निधो गरेको छ । सिरममा उत्पादन भइरहेको खोप हाल भारतमै प्रयोग भइरहेको बताइएको छ ।
यस्तोमा दक्षिण एसियाली मुलुकहरूले न त कोभ्याक्स कार्यक्रम अन्तर्गत अनुदानको थप खोप पाउने सम्भावना छ न त सिरमबाट सिधै खोप खरिद गर्ने सम्भावना छ । यस विषयलाई भारतको लोकप्रिय अबखार दी टाईम्स अफ इन्डियाले उठाएको छ ।
बिहीबार एक रिपोर्ट प्रकाशित गर्दै टाईम्स अफ इन्डियाले भारतले अन्य स्रोतबाट भए पनि छिमेकी मुलुकलाई खोप उपलब्ध गराउनु पर्ने अवस्था आउन सक्ने बताएको छ । ‘नेपाल, बंगलादेश मात्र होइन, माल्दिभ्ससमेतलाई तत्काल खोप चाहिएको छ । यस्तोमा भारतले अन्य उत्पादकसँग लिएर भए पनि आफ्ना महत्वपूर्ण छिमेकीलाई खोप उपलब्ध गराउनु पर्ने हुनसक्छ,’ टाईम्स अफ इन्डियाले लेखेको छ ।
नेपालमा मात्रै होइन, बंगलादेश र माल्दिभ्समा पनि हजारौँले सिरमबाट उत्पादित कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन पाएका छैनन् । भारतको सिरम कम्पनीलाई नेपालले भुक्तानीसमेत गरिसकेको छ ।
टाईम्स अफ इन्डियाले आफूले भारतको विदेश मन्त्रालयसँग छिमेकी मुलुककतर्फ खोप निर्यात गर्ने बारेमा जिज्ञासा राखेको तर जवाफ नआएको बताएको छ । यद्यपि भारतले अमेरिकासँग खोप खरिद र उत्पादन बढाउने विषयमा कुराकानी थालेको रिपोर्टमा उल्लेख छ ।
‘हामी अमेरिकासँग छलफलमा छौँ । खोप खरिद र भारतमै उत्पादन बढाउने विषयमा विभिन्न अमेरिकी कम्पनीसँग कुराकानी गरिरहेका छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रेस ब्रिफ्रिङमा भनेका छन् ।
उता भारतकै अर्को अखबार दी हिन्दुले भारतीय विदेश मन्त्री एस जयशंकरले अर्को साता अमेरिकाको भ्रमण गर्ने जनाएको छ । भ्रमणको मुख्य उद्देश्य अमेरिकी उच्च अधिकारी र त्यहाँका खोप उत्पादक कम्पनीसँग छलफल गर्नु रहेको दी हिन्दुले आज (शुक्रबार) प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
जयशंकरले फाइजर, माेडेना, जोनसन एन्ड जोनसनका प्रतिनिधिलाई भेट्ने जनाइएको छ । भारतमै पनि खोपको अभाव रहेका बेला जयशंकरको अमेरिका भ्रमणको समाचार आएको हो । केही समयअघि मात्रै अमेरिकाले खोप उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडन भारततर्फको निर्यातमा भने केही लचिलो देखिएका थिए ।
दुई साता अघि मात्रै अमेरिकाले सिरमलाई करिब दुई करोड डोज खोप उत्पादन गर्न पुग्ने कच्चा पदार्थ उपलब्ध गराएको बताइएको थियो । तर अमेरिकी प्रतिबन्ध पूर्णरुपमा नहटे खोप उत्पादनमा असर परिरहने बताइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया