कर्जा प्रवाहदर ११.५० प्रतिशत पुर्याउने लक्ष्य निजी क्षेत्रका लागि सकारात्मक

विराटनगर- मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ हुने कर्जा प्रवाह दर बढाएर ११ दशमलव ५० प्रतिशत पुर्याउने नेपाल राष्ट्र बैंकको लक्ष्यले मुलुकको औधोगिक विकासमा थप लगानी भित्रिने सम्भावना बढाएको भन्दै उक्त नीतिको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रशंसा गरेको छ ।
आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह दर बढाउने लक्ष्य निजी क्षेत्रका लागि उपलब्धिपूर्ण भएको महासंघले जनाएको हो ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाह दर ११.५ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपणले थप लगानीको सम्भावनालाई बढाएको बताए । उनले कोभिड-१९ पछि मुलुकको अर्थतन्त्रमा देखिएको संकुचनलाई रोक्नका लागि राष्ट्र बैंकले लिन लागेको नीतिले निजी क्षेत्रको पुँजी परिचालनमा समेत उत्साह थपेको बताएका हुन् ।
‘गत आर्थिक वर्षमा पनि १२.६ प्रतिशतको कर्जा वृद्धिदरको लक्ष्य राखिएको थियो, तर त्यो कार्यान्वयन हुन नसकि पाँच प्रतिशत हाराहारीमै सिमित भयो,’ अध्यक्ष राउतले भने, ‘विगत वर्षहरूको भन्दा मुलुकमा लगानीको वातावरण तयार हुँदै गएको अवस्थामा यस पटकको मौद्रिक नीतिले समेत कर्जा विस्तारमा बाटो खालेको छ, ११.५ प्रतिशत कर्जा वृद्धिदरको लक्ष्य निजी क्षेत्रका लागि निकै सकारात्मक रहेको छ ।’
राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्ग दर्शनमा आवश्यक पुनरावलोकन गर्ने, सहकारी संस्थाहरूलाई प्रभावकारी नियमन गर्न छुट्टै संयन्त्र निर्माण गर्ने, नीतिगत दरलाई ६.५ प्रतिशत पुर्याउने, शेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्जेज कर्जाको विद्यमान जोखिम भार सम्वन्धि व्यवस्थामा पुनरावलोकन गर्ने लगायतका कार्यले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने उनले दाबी गरे ।
मौद्रिक नीतिले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा उक्त लक्ष्य पुरा गर्नका लागि राष्ट्र बैंकले प्रयोग गर्न लागेका आर्थिक उपकरणहरूले निजी क्षेत्रलाई आशावादी बनाएको बताए ।
महासंघले मौद्रिक नीतिको कार्यदिशा नै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो बन्ने गरी आएको भन्दै त्यसको पनि प्रशंसा गरेको छ । साथै विदेशी मुद्रा सटही सुविधालाई दुई हजार ५०० अमेरिकन डलर पुर्याउने कार्य पनि राम्रो भएको जनाइएको छ ।
ड्राफ्ट/टिटि र डीएपी/डीएएको माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बिषय पनि नीतिमा समेटिएको भन्दै त्यसको कार्यान्वयनका लागि निर्देशिका छिटो ल्याउन महासंघले आग्रह गरेको छ ।
उद्योग वाणिज्य महासंघ कोशीले मौद्रिक नीतिकै सन्दर्भमा यसअघि नेपाल राष्ट्र बैंकलाई १५ बुँदे सुझाव बुझाएको थियो । महासंघले कसिलो मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय क्षेत्रको लगानी अनुत्पादक क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो ।
बजेटले बजारमा तत्काल सुधार आउने अवस्था नदेखिएको भन्दै खुकुलो मौद्रिक नीति नै अख्तियार गर्नुपर्ने सुझाव दिएको थियो ।
रुग्ण वा बन्द अवस्थामा रहे पनि निर्यातमूलक तथा बढी रोजगारी दिएका उद्योगहरूको कर्जामा लाग्ने ब्याजलाई विनाशर्त पुनर्तालिका गरी उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने, कृषि क्षेत्रमा सहुलियत कर्जाको अभ्यास बढ्दै गएका कारण सरकारले कृषि वस्तुको भण्डारण र किसानको उत्थानका लागि धेरै कार्यक्रमहरू ल्याइरहेकोले अब किसानलाई थप उत्प्रेरित गर्न वेयरहाउसमा वित्तीय व्यवस्थापन गर्न पनि महासंघले राष्ट्र बैंक समक्ष आग्रह गरेको थियो ।

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

प्रतिक्रिया