लहान अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

लहान- सिरहाको लहान नगरपालिका-७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे । तर, अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महंगाे शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।
अस्पतालमा पछिल्लो नौ दिनयता रेबिजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महंगाे शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज रु पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले बताए । 'दैनिक औसतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर, त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ,' कुशवाहाले भने । प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको समेत बताए ।
अस्पतालका अनुसार रेबिजविरुद्धको खोप लगाउने विरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ । 'लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज मात्रै लगाएको छ,' उनले भने, 'छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।'
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेको उनको भनाइ छ । रासस

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया