सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सबै दल एक हुँदै ओलीलाई बिदा गरौँ र राष्ट्रपतिलाई महाअभियोग लगाऔँ : गगन

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले राष्ट्रपतिलाई तत्काल महाअभियोग लगाउने गरी दलहरूबीच एकता आवश्यक रहेको बताएका छन् । राष्ट्रपतिले दिएको समय सीमा अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउन आवश्यक रहेको उनले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न भोलि साँझसम्मको २१ घण्टे समय सीमा तोकेपछि युवा नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । विश्वासको  मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्नुपर्नेमा राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा यस्तो अवस्था आएको उनले बताए । 

‘राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्‍याउँ  र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ । महाअभियोग लगाएर राष्ट्रपतिलाई पनि बिदा गरौं,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

मिलेमतो शैलीमा २१ घण्टाको समय सीमा तोकेर यस्तो कार्य गर्न कसले छुट दिएको छ ? भन्दै यसबारेमा अन्य दल सचेत भएर अघि बढ्न पर्ने थापाले बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आफूले विश्वासको मत नपाउने भएपछि त्यो मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो ।

यो सबै राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको देखिन्छ भन्दै उनले भने, ' यो जानिबुझेर नै गरेका हुन । सबै आंकलन र सांसद्संख्या हिसाव नै गरेर गरेका हुन् ।' राष्ट्रपतिको यो आह्वानपछि उक्त कदमको चर्को विरोध भइरहेको छ । ओलीको आफ्नै दल मिलाउन नसकेपछि उनले संविधान नै खेर फाल्ने गरि यस्ता कदमहरु अघि बढाएको बुझाई अन्य कांग्रेस नेताहरूको छ ।