बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

दाहालसँगकै वैमनस्यताले ओलीले भरतपुरलाई स्मार्ट सिटी आयोजनामा नपारेका हुन् त ?

भरतपुर होइन भक्तपुर (गुण्डु) स्मार्ट सिटी आयोजनामा समावेश

काठमाडौँ : सरकारले स्मार्ट सिटी  सम्बन्धी बहुवर्षीय आयोजना स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले दोस्रो पटक पदभार सम्हाल्दै आज एघार वटा स्मार्ट सिटीको बहुववर्षीय आयोजना स्वीकृत गरेका हुन् । 

एघार वटा स्मार्ट सिटीहरूमा चितवनको भरतपुर भने समावेश छैन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २७ गते संसदमा बोल्दै उनको निर्वाचन क्षेत्र भएकै कारण भरतपुरलाई स्मार्ट सिटी आयोजनामा समावेश गर्ने सूचीबाट प्रधानमन्त्री ओलीले प्रतिशोध स्वरुप हटाएको बताएका थिए । 

दाहाललाई जवाफ दिदैं ओलीले भने आफू देशै बनाउने अभियानमा हिंडेकाले कसको निर्वाचन क्षेत्र स्मार्ट सिटीमा पर्‍यो वा परेन भन्ने सवाल गौण रहेको उल्लेख गरेका थिए । तर प्रधानमन्त्री ओली निकट युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुरको गुन्डुलाई भने उपत्यका विकास प्राधिकरण अन्तर्गत स्मार्ट सिटी बनाउन लागिएको छ । यसबाहेक देशभर अन्य ११ वटा समार्ट सहर सहर विकास आयोजना अन्तर्गत निर्माण गर्न लागिएको हो । 

स्मार्ट सिटीसम्बन्धी बहुवर्षीय आयोजनामा प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सिटी निर्माण गरिने भएको छ । 

 त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सिटी निर्माण गरिने भएको हो । बाह्रवटा स्मार्ट सिटीहरूमध्ये ११ वटा नयाँ सहर विकास आयोजनाअन्तर्गत तथा भक्तपुरको गुन्डुलाई उपत्यका विकास प्राधिकरणअन्तर्गत स्मार्ट सिटी निर्माण गर्न लागिएको हो ।