पानी पर्दा हिलो, घाम लाग्दा धुलो
पोखराको याम्दी–हरिचोक खण्डमा सास्ती

पोखरा- पानी पर्दा हिलो, घाम लाग्दा धुलो । यत्रतत्र छरिएका निर्माण सामग्री । खाल्डाखुल्डीका कारण दुर्घटनाको उत्तिकै जोखिम । मध्यपहाडी लोकमार्ग अन्तर्गत याम्दी–हरिचोक खण्डका स्थानीय र त्यस खण्डमा हिँड्ने यात्रु दिनहुँ यस्तै समस्यामा हुन्छन् ।
पोखरा–२५ याम्दीदेखि पोखरा–१ हरिचोकसम्म २ किलोमिटर लामो यो सडकखण्डको काम गत वर्षको भदौ अन्त्यबाट सुरु भयो । चार लेनको चौडा बनाउने गरी उक्त सडकखण्ड साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीका इन्जिनियर सुनिल थापाले यो खण्डको काम निर्धारित समयअगावै सक्ने दाबी गरे पनि सोचजस्तो प्रगति भएको छैन । निर्माण कम्पनीले २ वर्षमा सक्ने गरी सुरुआत गरेको सो खण्डको १० महिनामा २० प्रतिशतमात्र काम भएको छ ।
कार्य प्रगति सुस्त हुँदा पोखरा वडा १ र २५ वडावासीले विरोध जनाएका छन् । उनीहरूले निर्माण कार्यमा तीव्रता दिन माग गरेका छन् । अहिले सो सडकखण्ड भएर यात्रा गर्ने सवारी चालक एवं यात्रुसहित स्थानीय हैरानीमा छन् । काम ढिला हुँदा धेरै समस्या झेल्नुपरेको स्थानीय व्यवसायी प्रतीक्षा पौडेलले बताइन् । ‘यहाँ काम गर्न थालेको १ वर्ष हुन लाग्यो केही प्रगति भएको छैन,’ उनले भनिन् । अस्तव्यस्त सडकका कारण दिनहुँ सो खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको पनि उनको गुनासो छ । सडककै कारण आफ्नो व्यापार पनि घटेको उनले सुनाइन् । बाटो साँघुरो भएकाले त्यस क्षेत्रमा सवारी जामको पनि समस्या छ ।
सडक निर्माणमा ढिलासुस्ती र हेलचेक्र्याइँ भएको पोखरा २६ र १ का जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयले विरोध जनाएका छन् । उनीहरूले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको मापदण्ड नअपनाई सडक बनाउँदा अत्यधिक खाल्डाखुल्डी भएको र दुर्घटना बढेको बताए ।
पोखरा–२५ का वडाध्यक्ष मोती तिम्सिनाले सडक निर्माणमा लापरबाही गर्दै काम ढिला गरेको बताए । ‘सिम्पानीदेखि याम्दीसम्मको सडकखण्डमा निर्माण कम्पनीले लापरबाही गरेको छ । ढिलासुस्ती गरेको छ । बाटो मर्मत भएको छैन । यात्रुलाई सास्ती भएको छ । सवारीहरू दुर्घटनामा परेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले समयमै मर्मत नगर्ने आलटाल गर्ने अनि मध्यपहाडी योजनाले पनि सुनुवाइ नगर्ने भएपछि आज हामीले वडा २५ को नेतृत्वमा वडा १ का जनप्रतिनिधिसहित गएर ध्यानाकर्षणपत्र बुझाइयो ।’ उनका अनुसार सडक चिप्लो हुँदा सबैभन्दा बढी महिला र विद्यार्थी दुर्घटनामा पर्ने गरेका छन् ।
ठेकेदार कम्पनीले ढिलासुस्ती र हेलचेक्र्याइँ गर्दा स्थानीयले दु:ख पाएको ज्ञापनपत्रमा उल्लेख छ । वडाध्यक्ष तिम्सिनाले बर्खामा हुने दुर्घटना न्यूनीकरण गर्न तत्काल ग्राभेल भरेर आउजाउ सहज बनाइदिन आग्रह गरे ।
हरिचोक–याम्दी सडकखण्ड निर्माणमा हालसम्म २० प्रतिशतभन्दा केही बढी काम भएको भएको पुष्पलाल मध्यपहाडी लाेकमार्ग आयोजना योजना कार्यालय पर्वतका आयोजना प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् । प्रगति सोचेजस्तो नभएको उनको भनाइ छ । अर्थ मन्त्रालयबाट पूर्ण बजेट भुक्तानी नहुँदा झनै समस्या परेको उनको भनाइ थियो । ‘अर्थ मन्त्रालयले भुक्तानी गर्ने भनेको बजेट पनि भुक्तानी भएन । आवश्यकताको ५० प्रतिशत पनि बजेट आएन । त्यसो भएपछि हामीले निर्माण कम्पनी पेस गरेको बिल भुक्तानी गर्न नसक्ने अवस्था भयो,’ उनले भनिन्, ‘आएको पैसा सबैलाई थोरैथोरै बाँडियो । सोही अनुसार मोतीदानलाई पनि दिइयो । उहाँहरूको काम त सन्तोषजनक त छैन । तर, पछिल्लो समय हामी आफैँ पनि कमजोर भइयो ।’
गरेको काम बराबरको भुक्तानी दिन नसक्दा काम छिटो गन ताकेता गर्न गाह्रो परेको उनले सुनाइन् । ‘हामीले गरेको कामको पनि पैसा दिन सकिएको छैन । कुन मुखले काम छिटो गर भनेर भन्ने ?’ उनले भनिन्, ‘यसको सम्झौता सकिन १ वर्ष छ । अस्तीसम्म त पत्राचार गरेर काम छिटो गर्नुस् भनेर भनियो तर पैसा कम आएपछि समस्या पर्यो ।’
आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिसम्मका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन निर्देशन दिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया