कोशी किनारमा ‘लेडी फाइट’, एक पक्राउ पर्दा चारजना फरार

विराटनगर- गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजावासस्थित सप्तकोशीको किनारमा केही युवतीहरूले अर्को समुहमा रहेकी मध्ये एउटीलाई निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल छ ।
उक्त घटनामा पाँच जना युवतीहरूको समूहले ब्वाइफ्रेण्डको पोल खोलेको विषयमा अरु तीन जनाको समूहमा रहेका युवतीहरूमाथि अन्धाधुन्ध कुटपिट गरेका हुन् । पीडित युवतीहरूको तर्फबाट परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले कुटपिटमा संलग्न रहेकी बराहक्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको जनाएको छ । तर, लिम्बुको समूहमा रहेका अरु चार जना युवतीहरू भने फरार भएका छन् ।
कोशी किनारमा भएको झगडापछिको कुटपिट शुक्रबार साँझ करिब साढे ५ बजेतिरको भएको प्रहरीले बताएको छ । घटनामा बराहक्षेत्र–८ की १७ वर्षीया युवतीमाथि सबैभन्दा धेरै कुटपिट भएको प्रहरीले जनाएको छ । पाँच जनाको समूहले १६ वर्षीया अर्की युवती र १९ वर्षीया मनीषा राईमाथि पनि कुटपिट गरेका हुन् ।
उक्त भिडियोमा कुटपिट गर्ने समूहका युवतीहरूले आफ्नो कुरा अरूलाई किन भनेको भन्दै अर्की युवतीमाथि एकोहोरो आक्रमण गरेको प्रष्ट देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार कुट्ने र कुटिने युवतीहरू सबैजना आपसी चिनजानकै साथीहरू भएको खुलेको बताए । तर, घटना हुँदाको अवस्थामा भने उनीहरूबीच आपसी मनमुटाव र एकले अर्काको पोल खोलेको विषय इगो बनेको देखिन्छ ।
पाँच जनाको समूहमा रहेका युवतीहरूले अर्को समूहमा रहेका तीन जनालाई कोशी किनारमा कुरा गर्न भनेर बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, घटनामा संलग्न रहेका युवतीहरू मध्ये एक जनामात्रै पक्राउ परेको र बाँकी चार जना फरार रहेका कारण घटनासम्बन्धी सबै विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी पनि भइरहेको जनाइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेकी लिम्बुलाई भने अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत सुनसरीबाट अनुमति लिइसकेको प्रहरी प्रवक्ता राईले जानकारी दिए । कुटपिटमा संलग्न रही हाल फरार रहेका बराहक्षेत्र–९ कै १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराहक्षेत्र–८ सैनिक टोलकी १८ वर्षीया अरु दुई युवतीहरूको खोजी भइरहेको जनाइएको छ ।
प्रहरी प्रवक्ता राईले कुटपिट भएका युवतीको मेडिकल जाँच गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । पीडित युवतीहरूका आफन्तले कुटपिटको वास्तविक कारण अझै पनि नखुलेको बताएका छन् ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया