शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सांसद सिंहको प्रश्न : यो देश ऐन–कानुनले चल्ने कि हुकुमी शासनले ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने निर्णयको विरोध गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसद सिंहले कुनै पनि व्यक्तिको विदेशमा भएको उपचार खर्च सरकारले बेहोर्न नमिल्ने बताए । उनले देश ऐन–कानुनले चल्ने कि हुकुमी शासनले चल्ने भन्दै प्रश्न गरे ।

‘सरकारको यो निर्णय जनस्वास्थ्य ऐन, २०७५ को विरुद्धमा छ । ऐनमा प्रष्ट लेखिएको छ– प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएता पनि कुनै पनि व्यक्तिको विदेशमा भएको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन,’ उनले भने, ‘ऐनभन्दा माथि सरकार हुँदैन । ऐन संशोधन गर्ने अधिकार यो संशोधनलाई मात्र छ । सरकारलाई छैन ।’

राष्ट्रपति पौडेलको भारतमा उपचारका क्रममा ५५ लाख २ हजार २ सय ९९ रुपैयाँ खर्च भएको थियो । सुरुमा उक्त रकम पौडेल आफैँले बेहोर्ने भन्दै राष्ट्रपति कार्यालयले गत वैशाख ५ मा प्रेस विज्ञप्ति जारी गरेको थियो । तर, पछि उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो । यसलाई लिएर अहिले पनि विरोध भइरहेको छ ।