शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित

काठमाडौँ- ​राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस’ भन्ने प्रस्ताव पेस गरेकामा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधनबिना मूल रूपमै पारित भएको छ ।

बैठकमा राष्ट्रिय सभाका सांसदहरूले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा प्रकाशशरण महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताएका थिए । अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उनले बताए । उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिए ।

अहिले मूल्यवृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडि बढेको बताए । राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते बोलाइएको छ ।