आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

पुष्पकमल दाहालका घरबेटीको कम्पनी सैलुङ फेरि कालोसूचीमा

फाइल फोटो

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा रासायनिक मल युरिया आपूर्ति नगर्ने ठेकेदार कम्पनी सैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखेको छ ।  गत फागुन २२ मा पनि कार्यालयले कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको थियो । तर कालोसूचीमा परेको एक वर्ष नबित्दै सैलुङ फेरि कालोसूचीमा परेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीका नामबाट बढी चिनिने शारदा अधिकारीको यो कम्पनी सार्वजनिक खरिदको क्षेत्रमा बदनाम छ । राजनीति शक्तिका आडमा उनले ठूला ठेक्का हात पार्ने र समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने गरेको आरोप छ ।  

२०७६ माघ २८ मा खुलेको युरिया मलको ठेक्का सैलुङले हात पारेको थियो । ३० हजार टन युरिया समयमा ल्याउनुपर्नेमा सैलुङले समयमा ल्याउन सकेको थिएन । ठेकेदारहरूले समयमा मल नल्याउदा खेतीमा किसानहरूले प्रायः समस्या भोग्नुपर्ने बाध्यता छ ।

विभिन्न चरणमा गरिएका ठेक्काको छुट्टाछुट्टै कालोसूचीका लागि सिफारिस हुने भएकाले सैलुङ फेरि कालोसूचीमा परेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । यो अलि पुरानो ठेक्काको विषय हो । ठेक्कापिच्छे कालोसूचीको सिफारिस पर्ने भएकाले सैलुङ फेरि कालोसूचीमा पर्‍यो उनले भने ।

अर्को ठेक्कामा पनि कालोसूचीमा राख्न सिफारिस 

यस्तै एउटा ठेक्कामा कालोसूचीमा परिसकेको सैलुङलाई अर्को ठेक्कामा समेत कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले सिफारिस गरेको छ । २०७६ फागुन २० मा कम्पनीले २० हजार टन डिएपी मल र २५ हजार टन युरिया मलका लागि ठेक्का खुलाएको थियो ।

यो ठेक्का पनि सैलुङले हात पारेको थियो । यो ठेक्का पनि समयमा सम्पन्न गर्न नसके पछि सैलुङलाई कालोसूचीमा राख्न एक महिना अघि कम्पनीले सिफारिस गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सैलुङसँग एक महिना स्पष्टीकरण समेत माग्यो । तर कुनै जवाफ नआएपछि उसलाई सात दिनको थप समय दिइएको छ । चित्तबुझ्दो जवाफ नपाएमा कार्यालयले फेरि सैलुङलाई कालोसूचीमा राख्नेछ ।