घरभित्रै यसरी गर्नुहोस् व्यायाम

कोभिडले गर्दा अहिले हामी घरभित्र थुनिएका छौँ । निष्क्रिय छौँ । तर, यो समयलाई शरीर चलायमान बनाउन र सक्रिय हुन व्यायाम गर्नुपर्छ । व्यायामले हाम्रो हृदय र फोक्सोलाई स्वस्थ राख्छ, त्यसको क्षमता बढाउँछ । व्यायाम भन्नेबित्तिकै धेरैको दिमागमा ‘मर्निङ वाक’ आउँछ । निषेधाज्ञाले घरभित्र थुनिएका धेरैजना मर्निङ वाक जान नपाएकोमा गुनासो गरिरहेका हुन्छन् ।
तन्दुरुस्त हुन मनिङ वाक गर्नुपर्छ भन्ने धेरैको धारणा छ । तर, वास्तवमा मर्निङ वाकलाई व्यायामको रुपमा परिभाषित गर्न मिल्दैन । यसले हाम्रो शरीरलाई ट्रेनिङ गराउँदैन । अरु कुनै एक्सरसाइज गर्दा सामान्यतया हाम्रो हार्ट रेट १२० भन्दा माथि हुन्छ भने मर्निङ वाक गर्दा वा हिँड्दा हार्ट रेट ८०-९० हुन्छ । त्यो भनेको मर्निङ वाक गर्दा हाम्रो शरीर ट्रेनिङ जोनमा गएकै हुँदैन । त्यसले हाम्रो शरीरलाई जुन खालको फाइदा पुर्याउनुपर्ने हो, पुर्याउँदैन । बरु त्यसको सट्टा पाँच दश मिनेट उफ्रिदा नै हाम्रो हार्ट रेट बढ्छ । र, शरीरलाई फाइदा गर्छ ।
घरभित्रै एक्सरसाइज
निषेधाज्ञा मानिसहरूलाई अल्छी गर्ने बाहना बनेको छ । तर, घरभित्रै पनि थुप्रै एक्सरसाइज गर्न सकिन्छ । त्यसका लागि अनेक उपाय लगाउन सकिन्छ । सरल खालका एक्सरसाइजहरू इन्टरनेटमा पनि भेटिन्छन् । उठ-बस, पुस-अप, उफ्रिने जस्ता एक्सरसाइजले पनि शरीरलाई एकदमै धेरै फाइदा गर्छ । यी सबै घरमै एउटा कोठाको कुनामा गर्न मिल्ने एक्सरसाइज हुन् । त्यस्तै, घरभित्र एक्सरसाइज गर्दा घरभित्रै भएका उपकरणहरू प्रयोग गर्न सकिन्छ । झुण्डिने ठाउँ छ भने झुण्डिएर गर्ने एक्सरसाइज गर्न सकिन्छ । किचनमा हुने जार वा बोतललाई वेट बनाएर बोकेर स्क्वाट्स गर्न सकिन्छ । व्यायाम आफूसँग केही नहुँदा पनि गर्न सकिन्छ ।
अहिले यससम्बधि थुप्रै सूचनाहरू इन्टरनेटमा भेटिन्छन् । तर, इन्टरनेटमा भेटिने एक्सरसाइज कपि गर्दा पहिला हामीले केही कुरामा भने ध्यान दिनुपर्छ । जसलाई पायो त्यसलाई फलो गर्नु हुँदैन । चिनिएका र नाम चलेका फिटनेस इन्स्ट्रक्टरहरूलाई फलो गर्नुपर्छ ।
कोभिड संक्रमितले के गर्ने ?
अहिले नेपालमा होम आइसोलेसनमा बसेका संक्रमित धेरै छन् । उनीहरू कोभिडसँग लड्छु भन्दै एक्सरसाइज गरिरहेका पनि हुन सक्छन् । तर, हामी आज गरेको एक्सरसाइज वा खाएको खानेकुराले कोभिडसँग लड्न सक्ने बन्दैनौँ । हामीले वर्षौदेखि खाँदै आएको खानेकुरा र बिताउँदै आएको दैनिकीले हाम्रो शरीरलाई फरक पार्छ ।
एक दुई दिन राम्रो खानेकुरा खादैमा, एकदुई हप्ता एक्सरसाइज गर्दैमा शरीर तुरुन्तै बलियो हुँदैन । संक्रमितले कोभिडसँग लड्ने भन्दै गह्रौ खालका एक्सरसाइज गर्न थाले उल्टै थला पर्छन् । एक्सरसाइज भनेको फिजिकल स्ट्रेस हो । यसले शरीरलाई स्ट्रेस दिने काम गर्छ । एक्सरसाइजको नतिजा छोटो समयमा खोजेर हुँदैन । यो औषधि खाएको जस्तो होइन, भ्याक्सिन हानेको जस्तो पनि होइन । यो जीवनशैलीको एउटा पाटो हो । त्यसैले, यसका लागि एकदिनको अभ्यास होइन, निरन्तरता चाहिन्छ ।
घरभित्र एक्सरसाइज गर्दा आफूसँग भएका उपकरणहरू प्रयोग गर्न सकिन्छ । झुण्डिने ठाउँ छ भने झुण्डिएर गर्ने एक्सरसाइज गर्न सकिन्छ । किचनमा हुने पानीको जार वा बोतललाई वेट बनाएर बोकेर ‘स्क्वाट्’ गर्न सकिन्छ ।
त्यसैले, अहिले जसलाई कोभिड संक्रमण भएको छ, जो आइसोलेसनमा बसेका छन् उनीहरूले एक्सरसाइज नगरेको राम्रो । यो बेला उनीहरूले एक्सरसाइजभन्दा खानपानमा ध्यान पुर्याउनुपर्छ । एक्सरसाइज नै गरेपनि शारीरिकभन्दा श्वासप्रश्वासँग सम्बन्धित एक्सरसाइजहरू गर्नुपर्छ । कसैको पहिलादेखि नै एक्सरसाइज गर्ने बानी छ भने उहाँहरूको शरीरले पचाउन सक्छ । तर, जो संक्रमण भएपछि कोभिडलाई जित्छु भन्दै मरिहत्ते गरेर एक्सरसाइज गरिरहेका हुन्छन् उनीहरूले गलत गरिरहेका छन् ।
खानपान
खानपानको हकमा पनि उही कुरा लागू हुन्छ । एकदिन राम्रो खाँदैमा शरीर बलियो हुँदैन । धेरै समयदेखि जसकोे खानपान राम्रो छ, उसकै स्वास्थ्य राम्रो हुन्छ । उसकै रोगसँग लड्ने क्षमता बलियो हुन्छ । आज कोभिड आयो, भोलि अर्को कुनै महामारी आउँला । त्यसको लागि हामीले आफ्नो शरीरलाई खानपानको तर्फबाट सधै तयार राख्नुपर्छ ।
यो बेलामा 'प्लान्ट बेस फुड'हरूमा जोड दिनुपर्छ । अहिलेको अवस्थामा खानपानमा एउटा फर्मुला अपनाउन सकिन्छ । त्यो भनेको ‘टीएनजीजीबीओएमबीएस’ फर्मुला हो । त्यसको मतलब ‘टी’ भनेको ‘टर्मेरिक’ अर्थात् बेसार । ‘एन’ भनेको नट्स अर्थात् काजु, ओखर बदाम आदि । ‘जी’ भनेको जिन्जर अर्थात् अदुवा । जी भनेको ‘ग्रिन भेजिटेबल्स’ अर्थात् हरियो सागसब्जीहरू । ‘बी’ भनेको ‘बिन्स’ अर्थात् गेडागुडी, ‘ओ’ भनेको अनियन अर्थात् प्याज । ‘एम’ भनेको मसरुम अर्थात् च्याउ, ‘बी’ भनेको बेरी अर्थात् ब्लू बेरी, क्रयानबेरी आदि । ‘एस’ भनेको ‘सिड्स’ अर्थात् चिया सिड आदि । यस्ता खानेकुरामा एन्टी अक्सिडेन्टको मात्रा राम्रो हुन्छ । यसमा भिटामिन र मिनिरल्स पनि पाइन्छ । यी खानेकुराले रोगसँग लड्ने क्षमता बढाउने भएकाले दैनिक यस्ता खानेकुरा खाने बानी बसाल्नुपर्छ ।
अहिलेको अवस्थामा स्वस्थ हुनु नै सबैभन्दा ठूलो कुरा हो । अहिलेको अवस्थामा हामीलाई न पैसाले बचाउन सक्छ न नामले । स्वास्थ्य जस्तो जीवनको सबैभन्दा महत्वपूर्ण कुरालाई हामीले हल्का रुपमा लिनु हुँदैन । एक्सरसाइज र खानपानको विषयलाई लिएर अनुशासित हुनुपर्छ । अघिल्लो पटक कोभिड आएदेखि नै हामीले अनुशासित भएर एक्सरसाइज गरेको भए हाम्रो फिटनेस कहाँ पुगिसक्थ्यो । दिनको एक घण्टा मात्रै हामीले आफूलाई दिन सकेको भए ३ सय ६५ घण्टा हामीले आफूलाई दिइसकेको हुन्थ्यौँ । अझै पनि समय छ । केही बिग्रिएको छैन । आजैबाट खानपान र एक्सरसाइजमा ध्यान दिन थालौँ । भोलि कुरेर नबसौँ ।
(बडि बिल्डर/फिटनेस इन्स्ट्रक्टर कार्कीसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित ।)
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया