शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

वडा नै नभएको ठाउँमा बजेट गयो : सांसद रावल

काठमाडाैँ– राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उनले आपत्ति जनाएकी हुन् । उनले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाट १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाइन् ।

उनले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरू गइरहेको प्रति उनको असन्तुष्टि थियो । बिरामीहरूको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने उनकाे भनाइ छ । उनले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन् , ‘एकातिर बिरामीहरूको उपचारलाई सहज बनाउनतर्फ सरकारको दायित्व हो भने अर्को रोग लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्ने तर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ ।'

अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय भएकाे तर अर्थ मन्त्रालयमा नै ५७ प्रतिशत बेरुजू भइरहेको कुरालाई जाेड्दै उनले याे के भइरहेको हाे भनेर सरकारलाई प्रश्न समेत गरेकी छिन् ।

राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताएकी छिन् ।