हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

काठमाडौँ- हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट) का २ वटा टावर निर्माण भइरहेको छ । उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।
हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो ।
यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर विलम्ब जरिवाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेण्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
भरतपुर–बर्दघाट खण्ड साउनभित्र
आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतबाट यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन ।
सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । अहिले टावर निर्माण भइसकेको छ । १.७ किलोमिटर तार तान्न सुरु गरिएको छ ।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो । प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट बर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया