शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रधानमन्त्रीको स्पष्टीकरण : प्रितम सिंहले भनेर म प्रधानमन्त्री हुनेवाला थिइनँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहले भनेर आफू प्रधानमन्त्री हुने थिइनँ भनेर प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे उठेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाईँ नै हुनुपर्छ भन्ने प्रसंग उठाउनु भयो,’ उनले भने, ‘उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ, मैले उहाँलाई प्रधानमन्त्री बनाइदियोस् भन्ने कुरा पनि थिएन । तर, उहाँले भावनामा आएर तपाईँ हुनपर्छ । यो परिवर्तन ल्याउने मुख्य तपाईँ हो । त्यसकारण प्रधानमन्त्री तपाईँ हुँदाखेरी हुन्छ । मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि कुरा गर्ने गरेको छु भन्नु भएको थियो । मैले तपाईँको शुभेच्छाको निम्ति धन्यवाद भने ।’

प्रितम सिंहसँग पारिवारिक सम्बन्ध पनि भएकाले उनले भावनात्मक समर्थन भएको मात्रै बताए । आफ्नो छोरीको उपचारका क्रममा प्रितम सिंहसँग सम्बन्ध भएको समेत स्पष्ट पारे । आफू भावनामा बगेर त्यस्तो अभिव्यक्ति दिन पुगेको समेत उनले स्पष्ट पारे ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको थियो । 

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ ।

आज शीर्ष नेताहरूको बैठक पछि प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।