बागमती प्रदेशमा विपद् पूर्व तयारीबारे योजना निर्माण

मकवानपुर- बाढी पहिरोलगायतको मौसमजन्य प्रकोपका कारण मर्कामा परेका बागमती प्रदेशवासीहरूलाई सरकारले वास्ता नगरेको भन्नेबारे पटकपटक संसदमा कुरा उठेपछि प्रदेश सरकारले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
यस वर्षको मनसुन सुरु भइसकेको छ । मनसुनका कारण विभिन्न जिल्लामा बाढी पहिरोले क्षति पुर्याएको छ जसको क्षतिबारे प्रारम्भिक सर्वेक्षण समेत नगरिएको अवस्थामा बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना आज २५ असारमा पारित गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको छ ।
बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरू र गैरसरकारी संघसंस्थाहरूका लागि विषयगत क्षेत्र तय गरी ति मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारीसमेत तोकेको छ ।
प्रदेशको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषदले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुनर्लाभसम्मका कार्यका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिनेछ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामग्री साथै राहत सामग्रीहरूको प्रबन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ । त्यस्तै प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ ।
आजको बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरूका सचिव, सुरक्षा निकायका प्रमुखहरू र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । साथै आज एक कार्यक्रमका बीच मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरेका छन् ।
बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरू, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरूको उपस्थिति रहेको थियो ।
एक साताअघि प्रदेश सभाको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले क्षति विवरण र सरकारले प्रदान गरेको राहतबारे जानकारी माग गरेका थिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया