शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

विमानस्थलको सुविधा स्तरोन्नतिका लागि एडीबीको १७.८५ अर्ब ऋण

काठमाडौं । एसियाली विकास बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुधार र सुविधा स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ८५ करोड रुपैँया सहुलियत ऋण स्वीकृत गरेको छ ।

पर्यटन पूर्वाधार विकास र सेवा सुदृढीकरणमार्फत् नेपालको पर्यटन क्षेत्रको विस्तारका लागि एडीबीले उक्त ऋण दिन लागेको हो । नेपालको आर्थिक गतिविधिलाई बढावा दिन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ । सन् २०१९ मा पर्यटन क्षेत्रले २ अर्ब ५ करोड अमेरिकी डलरको आम्दानी गरेको अनुमान गरिएको छ ।  मुलुकको कुल गार्हस्थ उत्पादनको ६.७ प्रतिशत हिस्सा यसले ओगटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एकमात्र विमानस्थल हो भने आन्तरिक वायुसेवाको लागि पनि प्रमुख केन्द्र हो । त्यस्तै निर्माण सम्पन्न हुने चरणमा रहेको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हो । नेपालको एउटा प्रमुख पर्यटकीय स्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको उक्त विमानस्थल सरकारले एडीबीकै सहयोगमा निर्माण गरेको हो । 

एडीबीको ऋण सहयोगमा त्रिभुवन विमानस्थलको सुरक्षा, क्षमता विस्तार र सञ्चालन दक्षता विस्तार गरिने एडीबीले जनाएको छ । त्यस्तै गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने एडीबीले उल्लेख गरेको छ । एडीबीका यातायात मामिला विज्ञ काइ विइ यो ले कोरोना भाइरस महामारीले पर्यटन क्षेत्रमा परेको नकारात्मक असर न्यूनीकरण गर्दै पर्यटन अभिवृद्धि गर्न गौतम बुद्ध विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

यो ऋणले त्रिभुवन विमानस्थलमा ट्याक्सी वे र ह्यांगर एप्रोनको संख्या समेत थप गरिनेछ । त्यस्तै, गौतम बुद्ध विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गरिनेछ । एडीबीको ऋणमा सञ्चालन हुने यो परियोजनाको अर्को महत्वपूर्ण पक्ष जलवायु परिवर्तन न्यूनीकरण पनि हो । यस अन्तर्गत गौतम बुद्ध विमानस्थलको टर्मिनल भवनमा स्वच्छ र नवीकरणीय उर्जा प्रयोग गर्न सौर्य उर्जाको प्रयोग र उर्जा दक्षता वृद्धि गर्ने बत्तीहरुको प्रयोग गरिने एडीबीले जनाएको छ ।