बागमती प्रदेश : बाँडफाँट मिल्यो, दोहोरी सकियो

मकवानपुर- लगातार अवरुद्ध हुँदै आएको बागमती प्रदेशको संसद् बैठक सोमबारबाट नियमित हुने भएको छ । सोमबार सत्तापक्ष र प्रतिपक्ष बीचको सहमति मिलेपछि संसद् सुरु भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्ताव भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले विरोधमा उत्रेको थियो । बजेट छलफलका लागि बोलाइएको १२ असारको बैठक ३ पटकसम्म अवरुद्ध भयो । यसैगरी १३ असार र १७ असारको बैठक पनि प्रतिपक्षीको विरोधको कारण अवरुद्ध भयो । बजेट बाँडफाँटको विषयलाई लिएर लगातार बैठक अवरुद्ध भएपछि सत्तापक्ष लचिलो भएको हो ।
यससँगै सरकार पक्ष र प्रतिपक्षीबीच चल्दै आएको दोहोरी सकिएको छ । सरकारले समानुपातिक बजेट वितरण गर्ने भन्दै प्रतिपक्षीलाई बजेटको सिलिङ थपेको स्रोतको दाबि छ । यद्यपि सरकार पक्ष र प्रतिपक्षले यसबारे प्रक्रिया दिन चाहेको छैन ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षीसँग सदन सुचारु गर्ने सहमति भएको हो । बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले प्रतिपक्षीहरूसँग सहमति भएको र अवरुद्ध संसद् खुलेको बताए ।
प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्वव थापा र नेमकिपाकि नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपश्चात् अवरुद्ध संसद खोल्न आफूहरू सहमत भएको बताए ।
मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमुना प्रदेशका रूपमा विकास गर्ने विश्वास व्यक्त गरे ।
प्रस्तावित बजेटमा संशोधन हुनै पर्ने मागमा उत्रेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरूको माग सत्तापक्षबाट सुनुवाइ भएको र कार्यान्वयनमा जाने आशा प्रकट गरे । प्रतिपक्षिमात्रै हैन बजेट असन्तुलित भएकोमा सत्तापक्षभित्र नै विवाद छ ।
नेकपा एकीकृत समाजवादीका दलका नेता कृष्णप्रसाद शर्मा खनालले बजेट असन्तुलित भएको स्वीकार गरे । 'म सत्तापक्ष भए पनि बजेट वितरणमा असन्तुलन भएको स्वीकार गर्दछु, त्रुटीलाई त्रुटी भनिनु पर्छ,' उनले भने, 'कुनै निर्वाचन क्षेत्रमा ३० करोड बजेट छ कतै ३ करोड छैन, यो असमान वितरण नभएर के हो ?'
बागमती प्रदेशको बजेटमाथि असन्तुष्टि राख्दै निरन्तर तीनवटा प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । सोमबार संसद चलेपछि प्रदेशका अर्थमन्त्री बहादुर सिं लामाले नेकपा एमाले र राप्रपालाई धन्यवाद दिए ।
विपक्षी दलसँगको वार्तापछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री लामाले एमाले र राप्रपालाई धन्यवाद दिँदै सहकार्य र समन्वयमा सरकारअघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रस्तुत बजेटमा विपक्षी दलको सुझाव समेटेर बजेट कार्यान्वयन गर्ने सहमति भएको भन्दै लामाले प्रदेशसभाको बैठक अगाडि बढ्ने बताए । उनले धेरै कुरा गर्नुपर्ने छैन भन्दै बजेटलाई कार्यान्वयन गरी प्रदेशको विकास गर्ने दायित्व सबैमा रहेको बताए ।
सदनमा बोल्दै नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थमन्त्री लामाको भनाइ व्यवहारमा कार्यान्वयन भएको हेर्न चाहेको बताए । उनले सबै जिल्ला र क्षेत्रको सन्तुलित विकास एमालेले चाहेको भन्दै व्यवहारमा सहमति देखिनुपर्नेमा जोड दिए । बैठक आगामी १९ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सभामुख भुवानकुमार पाठकले बताए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया