शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अब वाइडबडी पनि सीआईबीलाई दिइयोस्

सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाका कानुनी सल्लाहकार महान्यायाधिवक्ता खम्बबहादुर खातीले ललिता निवास प्रकरणमा ‘अध्ययन नपुगेको’ फत्तुर लगाउँदै मुद्दा दायर गर्न रोक लगाए । त्यसो महान्यायाधिवक्ता भनेको सरकारको कानुनी सल्लाहकार हो । सरकारले जे भन्यो, उसले त्यही मान्दै आएको छ । विगतमा डा. बाबुराम भट्टराईका महान्यायाधिवक्ताले पनि यस्तै गरेका थिए । अक्सर प्रधानमन्त्री गतिलो नहुँदा मुद्दामा चलखेल हुँदै आएका छन् । ललिता निवास प्रकरणमा पनि देउवाले चासो लिएर मुद्दा रोकाएकै हुन् । तर, यो मुद्दा पुष्पकमल दाहाल प्रधानमन्त्री भइसकेपछि पुनः खुलेको छ । सीआईबीले धमाधम पक्राउ गर्न थालेको छ भने अदालतले पनि पक्राउ गर्ने आदेश दिन थालेको छ ।

देशका प्रधानमन्त्रीहरूले राज्यसंयन्त्रलाई कसरी पंगु बनाएका रहेछन् भन्ने त खातीले मुद्दा चलाउन नदिएको प्रकरणले उजागर गरेकै हो । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको प्रतिवेदन अख्तियारलाई बुझाएकै हो । वाइडबडी केपी ओलीको पालामा आएर खरिद भएको थियो । ओलीले नै प्रेम राईलाई अख्तियारका प्रमुख आयुक्त बनाएका हुन् । अनि अख्तियारले वाइडबडीको अनुसन्धान गरी मुद्दा दायर गर्छ त ? जसले नियुक्ति दियो, उसको नुनको सोझो गर्ने नेपाली परम्परा नै छ । त्यसमाथि संवैधानिक निकायहरूमा ‘आफ्ना मान्छे’ भर्ती गर्न पाउँदा ‘पावर एक्सरसाइज’ गर्न पाइन्छ । त्यही भएर राईले वाइडबडीको फाइल खोलेका छैनन् । अख्तियारमा धेरै वाइडबडीहरू छन् ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न र राज्यदोहनमा लागेकाहरूलाई निमिट्यान्न पार्ने बुद्धत्व प्राप्त गरेकै हो र आगामी दिनमा पनि यी कदम यसरी नै अघि बढ्छन् भने त्यो स्वागतयोग्य हुनेछ । किनभने यहाँ ‘काले काले मिलेर खाउँ भाले’ भएकै हो । दलका नेता, तिनले चुनेका प्रधानमन्त्री अनि प्रधानमन्त्रीले ल्याएका मन्त्री, तिनले नियुक्त गरेका ‘सरकारी हाकिम’ हरूले नै यो देशलाई खोक्रो पारेकै हो । यिनका असंगत मतिले व्यवस्थाप्रति नै जनमानसमा वितृष्णा फैलन लागिसकेको छ । यिनीहरूबाट पार लाग्दैन भन्ने सोचले नै नयाँ शक्तिहरू आइरहेका छन् । यिनीहरू नसच्चिए, सिद्धिनेमा नगरे हुन्छ शंका । त्यही भएर प्रधानमन्त्री दाहालले आफ्नो गुमेको साख र छविलाई फर्काउने अवसर पनि छ । भ्रष्टाचारविरुद्ध ‘एक्सन’ मा सरकार उत्रेकै कारण होला दलहरूका कथित दोस्रो पुस्ता भनिनेहरू नयाँ सत्ता–समीकरणको भजन गाउन लागेका छन् ।

अख्तियारले वाइडबडी, ओम्नी, खोप, यती, ३३ किलो सुन लगायतका काण्डहरू हेर्दैन र थन्क्याएरै राखेको छ । अब वाइडबडीलगायतका यस्ता कुकृत्यहरू सीआईबीले छानबिन गर्नुपर्छ । हिजो ललिता निवास प्रकरणमा अख्तियार गरेको छानबिन अपूरो र अधुरो थियो । राजनीतिक नेतृत्वले चाहेको व्यक्तिलाई जोगाइएको थियो । कतिपयलाई सुनपानी छम्केको थियो अख्तियारले । सीआईबी नेपाल प्रहरीको एउटा विश्वासिलो निकाय हो । यो निकायलाई स्वतन्त्र ढंगले काम गर्न दिने हो भने आफ्नो क्षमता देखाइदिनेछ । राजनीतिक नेतृत्वबाटै सीआईबीलाई विगतमा रोकिएकै हो । तर, वर्तमान सरकारले पुनः फाइल खोल्न लगाएर आम जनतामाथि सुरु भइसकेको चरम निराशालाई केही आशामा परिणत गरेको छ ।

वाइडबडीमा लेखा समितिले अनुसन्धान गरेकै हो, प्रतिवेदन बुझाएकै हो, निर्देशन दिएकै हो । तर, अख्तियारले त्यसलाई राजनीतिक शक्तिका आडमा थप अनुसन्धान गरेन । जिन्दगीभर सरकारी पदमा बसेर अघाएकाहरूलाई पहुँच र ताकतका भरमा अख्तियारको पदाधिकारीमा नियुक्ति गर्दा देशले दुःख पाउँछ भन्ने त केही अपवाद बाहेक छर्लंग भएकै हो । तसर्थ वाइडबडी काण्ड अब सीआईबीलाई दिनुपर्छ, सरकारले खुट्टा कमाउनु हुँदैन ।