मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

अक्सिजन सिलिन्‍डरको उत्पादन परीक्षण सफल

काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माणगरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे । 

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको आपूर्ति गर्न सरकार गम्भीर रूपमा लाग्ने बताए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनले प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै उनले भने, 'विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।'

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने लिलिन्‍डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफलगरी  व्यावयायिक उत्पादन गर्न अनुमति दिने बताए । उनकाअनुसार नेपालमा पाइने सिलिन्‍डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिन्‍डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ । 

परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिएका थिए ।