शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

भाषण होइन, काम गर्नुपर्‍यो नेताज्यू अनि मात्र ‘फटाहा’ होइँदैन

हाम्रा नेता, मन्त्रीहरू हरेक दिनजसो उद्घाटन, शिलान्यास, वृक्षरोपण, पुस्तक विमोचन जस्ता औपचारिक कार्यक्रम सरिक भइरहन्छन् । उद्घाटन गरिदिँदा ठूलो मान्छे होइन्छ भन्ने एउटा मानसिक सोच छ र दबाब पनि । फलानोले जाबो यत्ति भनिसकेपछि मानिदिनै पर्यो भन्दै मन लगाई नलगाई उद्घाटन गर्नेहरू पनि छन् । कोही पनि उद्घाटन गर्न नपाउँदा आफूलाई हीनभावले हेर्छन् । कुनै सरकारी कार्यालयको विभागले विभागीय मन्त्री नल्याईकन कार्यक्रम गर्यो भने त्यसको हाकिमले गाली खाइहाल्छ । अनि उद्घाटन गर्ने बेलामा भाषण पनि गर्नुपर्ने हुन्छ । उद्घाटन पनि हरेक दिनजसो हुन्छ । अझ कहिलेकाहीं प्रधानमन्त्रीले दुई, चार ठाउँमा एकै दिन उद्घाटन, शिलान्यास, विमोचन आदि गर्नुपर्ने हुन्छ । उद्घाटन भाषणका क्रममा एउटै कुरो सामान्यतया दोहोर्याएर भन्नु पर्दा मजा पनि हुँदैन । भाषणमा दम पनि हुँदैन । नेताहरू आफ्ना भाषणका क्रममा पटके तालीको गडगडाहट भइरहोस् भन्ने चाहन्छन् । कार्यक्रममा सहभागीहरू पनि नेताका भाषण सुन्दैमा दंग र मख्ख पर्ने गर्छन्— नेताका भाषण सुन्नेको भीडले यही बताउँछ ।

काठमाडौँका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङहरू भने उद्घाटन, शिलान्यासतिर त्यति रुचि राख्दैनन् । उनीहरूले रिबन काटेको, पानसको बत्ती बालेको, पर्दा उघारेको, वृक्षरोपण गरेको, पुस्तक विमोचन गरेको देखिँदैन । काम भने फटाफट गरिरहेका छन् । उनीहरूको कामलाई नै जनतालाई ताली बजाइरहेका छन् । ती ताली देखिँदैनन् । यता नेताहरूका भाषणमा ताली ठोक्छन्, कार्यक्रम सकिएपछि गाली गर्छन् । नेता र मन्त्रीहरूले खासै ‘डेलिभिर’ गर्न सक्दैनन् । नत्र एउटा मेयरले गर्नुपर्ने न्यूनतम कार्य, जसका लागि भनेरै जनताले चुनेर पठाएको हो, गर्दा वाहीवाही किन पाउँछन् ? अझ मेयर साहलाई त संघीय सरकारले पाइलैपिच्छे अवरोध गरेको छ, टाङ अड्याएको छ । संघीय सरकार र उसको नोकरशाहीले पनि साहलाई सहयोग गर्ने हो भने त अझ बढी जनताले सुख सुविधा पाउँथे होलान् ।

हिजो राजनीतिक दलबाट निर्वाचित भएका मेयरहरूले काम गर्न नसेकै कारण ती मेयरहरूको मात्र होइन, उसलाई उठाउने दलहरूको पनि इज्जत भएन । आज साह र साम्पाङका काम देखी ठूला भनिएका राजनीतिक दलका नेताहरू जल्न थालेका छन् । त्यही जलनको प्रतिविम्ब उनीहरूले गर्ने रोषपूर्ण भाषणमा देखिन्छ । जसले बोल्दैनन्, खुरुखुरु गरिरहेका छन् । जसले बोल्छन् तिनीहरूले केही गर्न सक्दैनन् । नेता/मन्त्री वा प्रधानमन्त्री भएपछि उद्घाटन नै गर्नुपर्ने, उद्घाटनका क्रममा ‘नयाँ कुरा’ बोल्नै पर्ने, फेरि जुन ठाउँ र परिवेश हो, त्यो ठाउँ र परिवेशअनुसार भाषण गर्नुपर्ने । आफूले के बोलेर आएँ भन्ने कुरो कार्यक्रम सकिनेबित्तिकै बिर्सने भएकाले नेताहरू ‘फटाहा’ हुन् भन्ने प्रतीत भएको हो । बोलेको कुरो पूरा नगर्नेलाई फटाहा भनिन्छ । हरेक अर्थमन्त्रीहरूले बजेट भाषणमा बोलेको १० प्रतिशत पनि पूरा हुँदैन । बोलेको मात्र होइन, लेखिएको र त्यसरी लेखिएकोलाई संघीय संसदको बहुमतले पारित गरेको कुरा पूरा हुँदैन भने भाषण कसरी पूरा होस् । त्यही भएर हरेक अर्थमन्त्री ‘फटाहा’ हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको गजुरी पुगेर एउटा बहुमुखी क्याम्पसको उद्घाटन गरे । प्रधानमन्त्रीको चुनावी क्षेत्रको छिमेकी जिल्ला । अब त्यसअनुसार उनले भाषण गर्नुपर्ने भयो । गरिदिए— बूढीगण्डकी यही असार मसान्तभित्र शिलान्यास हुन्छ । निर्माणको कुनै अत्तोपत्तो नभएको तर राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषित बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको कुरो कालीकोटमा गएर उल्लेख गर्दा पनि त्यो ‘राष्ट्रिय गौरव’ नै हुन्छ । त्यसमाथि आयोजना स्थल रहेको जिल्लामै गएर त्यहाँका प्रबुद्ध व्यक्तिहरूका अगाडि यही महिनाको अन्तसम्म शिलान्यास हुन्छ भन्नु दाहालले त्यहाँको परिवेश र ‘नयाँ कुरा’ डेलिभर गरे । जब यो आयोजनाको लगानीको टुंगो लागेको छैन, सरकारी ढुकुटी  रित्तिएर कर्मचारीलाई तलब/पेन्सन खुवाउन सकिरहेको छैन, कहाँबाट लगानी जुटाउने हो ? कुनै बहुपक्षीय वा द्विपक्षीय ऋण वा अनुदान दिने कुरोसमेत भएको छैन । ३ खर्ब ५० अर्ब रुपैयाँको कुल पुँजीगत खर्च (विकास बजेट) गर्न सोही वर्ष त्यति नै ऋण लिनुपर्ने मुलुकले बूढीगण्डकी आफै बनाउँछु भन्दा हाँसो उठ्नेबाहेक अरु हुन सक्दैन । बूढीगण्डकी बनाउने कुरो अहिलेदेखि होइन । २०२७ सालमा यसको पहिचान भएको हो भने पहिलो पूर्वसम्भाव्यता अध्ययन २०४१ सालमा भएको हो । त्यसयता बूढीगण्डकी बनाइनेछ भनेर भाषण गर्ने पञ्चायतका राजादेखि, पञ्चायती प्रधानमन्त्री, मन्त्रीदेखि गणतान्त्रिक व्यवस्थाका प्रधानमन्त्रीसम्मले ‘फटाहा’ को दर्ज पाइसके । त्यसकारणले भाषण होइन, काम गर्नु पर्यो नेताज्यू, अनि मात्र ‘फटाहा’ होइँदैन ।