शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विकासको मोडालिटी सच्याउनै पर्छ : मन्त्री किराती

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेपालले अपनाइरहेको विकासको माेडालिटी सच्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोजित बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘विकासको मोडालिटी हामीले नेपालमा सच्याउनै पर्छ,’ उनले भने, ‘संघीयताको मर्म र भावना अनुसार योजनाको वर्गिकरण र प्राथमिकिकरण गर्नै पर्छ । केन्द्र सरकारबाट १ लाखदेखि ५ लाखसम्मको बजेट लगाइदिएपछि विकास कसरी सम्भव छ ?’

उनले अगाडि भने, ‘१ करोड पैसालाई ५–५ लाख गरेर २० वटा योजनामा एउटै बक्स भित्र हाल्नुपर्ने वाध्यता, संघीय सरकारको विभागबाट टेण्डर गरेर कार्यान्वयन गर्नुपर्ने कानुन छ । केन्द्रबाट टेण्डर गरेर ताप्लेजुङमा ५ लाखको काम गर्न जानु र दार्चुलामा ५ लाखको काम गर्न जाँदा त्यो भन्दा बढी त जाँदै खर्च हुन्छ । त्यसकारण विकासको यो मोडालिटीमाथि यो सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’