शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सरकारलाई सांसद अब्दुल खानको प्रश्न– नागरिकतामा प्रदेश किन अझै खुलाइएको छैन ?

काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले वितरण गरिरहेको नागरिकतामा प्रदेशको नाम किन नखुलाइएको भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई यस्तो प्रश्न गरेका हुन् । 

‘नेपालको संविधानको धारा १० को उपधारा २ मा स्पष्ट लेखिएको छ,’ उनले भने, ‘नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । यसरी संविधानले नै प्रादेशिक पहिचानको नागरिकताको स्पष्ट व्यवस्था गरिएको  छ । तर हाल जिल्ला प्रशासन कार्यालयले वितरण गरिरहेको नागरिकतामा प्रदेश किन खुलाइएको छैन ?’

उनले अगाडि भने, ‘देश संघीयता र नयाँ संरचनामा गएको ८ वर्ष भइसक्यो । यस अवस्थामा कुनै पनि ठेगानामा प्रदेश विना अधुरो हुन्छ । नागरिकतामा पहिलेको ठेगाना उल्लेख हुन्छ । तर प्रदेशको किन हुँदैन ?’