तंग्रिँन खोज्दै पोखरा : प्याराग्लाइडिङ फस्टायो, होटलले पाहुना पाएनन्

पोखरा : मुर्छित पोखराको पर्यटन क्षेत्रलाई ब्युँताउन व्यवसायी यतिखेर आकर्षक प्याकेज ल्याउन लागि परेका छन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जस्ता साहसिक गतिविधिमा दिइएको छुटले अहिले पोखरामा आन्तरिक पर्यटक आकर्षित भएका छन् । सरकारले हवाई उडान अनुमति दिएपछि प्याराग्लाइडिङ चालु गरिएको थियो । निदाएको पर्यटनलाई अहिले प्याराग्लाइडिङले केही राहत दिएको छ । सराङकोटको डाँडाबाट अहिले प्याराग्लाइडिङ गर्नेको संख्या विगतका वर्षको बराबरी नै छ । बिहानै खुल्ने माछापुच्छ्रे हिमाल, फेवाताल, तालमा हिमालको छायाँ हेर्न र पोखराको आकाशमा उडेको अनुभव लिन अहिले आन्तरिक पर्यटक लालायित छन् ।
नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा दिनहुँ ५/६ सय जनाले प्याराग्लाइडिङ गरिरहेको बताउँछन् । अहिले ५२ वटा कम्पनीले पोखरामा प्याराग्लाइडिङ गराउँछन् । आधा छुट दिने प्याकेज ल्याएपछि प्याराग्लाइडिङ गर्नेको संख्या आश्चर्यजनक ढंगमा बढेको भण्डारीले बताए । ‘पहिले ८ हजारसम्म लिएर उडाउँथ्यौं, अहिले आधा छुट दिँदा प्याराग्लाइडिङ गर्नेको संख्या विगतको जति नै छ,’ भण्डारीले भने ।
अघिल्ला वर्षमा आक्कलझुक्कल आन्तरिक पर्यटक प्याराग्लाइडिङ गर्थे । तर अहिले पाइलटलाई आन्तरिक पर्यटक उडाएर भ्याइनभ्याइ छ । बुकिङ गर्नेको संख्या पनि अत्याधिक छ । अल्ट्रालाइटमा पनि आधा छुट दिएर प्याकेज ल्याइएको छ । ८ हजार लाग्ने अल्ट्रालाइट उडान अहिले ५ हजारमा गराइएको छ । बन्जीजम्पमा समेत १५ प्रतिशत छुट दिइएको छ । पोखरा २५ हेम्जामा सञ्चालित बन्जीमा दिनहुँ २० जनाले बन्जीजम्प गर्ने गरेका बन्जी सञ्चालक दिनेश महर्जनले जानकारी दिए । ‘कास्की, काठमाडौंबाट धेरै जना बन्जीका लागि आउनुहुन्छ, विदेशी नभएपनि छुट दिएपछि स्वदेशीमा बन्जीको मोह बढिरहेको छ,’ उनले भने ।
छुट दिँदा पनि आउँदैनन् पाहुना
पुराना कुरा सम्झने हो भने दसैँ तिहारका पोखराका होटलमा कोठा पाउन मुस्किल मुस्किल हुन्थ्यो । त्यो सत्य यसपालि भने उहिलेका कुरा खुइलिए जस्तो भएको छ । छुटसहितको प्याकेज ल्याउँदा पनि होटलले पाहुना पाएका छैनन् । व्यवसायीका भनाइमा अहिले पोखराका होटलमा ५ प्रतिशतमात्र अकुपेन्सी छ ।
पहिलेका वर्षमा पोखराका होटलमा दसैँ तिहारका बेला ८५ प्रतिशत अकुपेन्सी हुन्थ्यो । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पोखराका होटल व्यवसायीले अहिले होटल खोलेर धान्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘छुट दिँदा पनि ग्राहक आउँदैनन्, अहिले होटल धान्न नसक्ने अवस्था छ,’ तुलाचनले भने । प्याराग्लाइडिङ व्यवसायलाई ढाडस भए पनि होटल व्यवसायीलाई फाइदा केही नरहेको तुलाचनले थपे । प्याराग्लाइडिङ गर्ने अधिकांश कास्कीकै भएकाले होटलमा नबस्ने र होटल व्यवसायी हेरेर बस्न बाध्य भएको उनी सुनाउँछन् । उनले भने,‘सरकारले सबै पर्यटकीय स्थल नखोल्दासम्म होटल व्यवसायीलाई गाह्रो छ । हामी पर्ख र हेरको अवस्थामा छौं ।’
पोखरा आसपासका क्षेत्रमा स्थानीयले लगाएको ‘लकडाउन’ ले पोखराका होटल व्यवसायीलाई थप समस्या निम्तिएको तुलाचन बताउँछन् । ‘सरकारले मर्दीट्रेक जान अनुमति दिइसक्यो, तर स्थानीयले जान नदिँदा पर्यटक आएनन्,’ उनले भने, ‘तनहुँको मानुङमा हजारौं पर्यटक जाँदा मर्दीमा रोक लगाउनु हुन्थेन, स्थानीय सरकारले समन्वय गरिदिनु पर्यो ।’
पश्चिमाञ्चल होटल संघले अब एकीकृत प्याकेज ल्याउन लागेको तुलाचनले बताए । अत्याधिक छुटका साथ ल्याइने प्याकेजले होटलमा केही अकुपेन्सी बढ्नेमा उनी विश्वस्त छन् । ‘संघमा रहेका ४ सय होटलका लागि प्याकेज ल्याएपछि अकुपेन्सी बढ्छ, अहिले हामी त्यसैको तयारीमा छौं,’ तुलाचनले भने ।
रेस्टुरेन्टमा पनि उस्तै
पोखरामा अहिले ६५ प्रतिशत रेस्टुरेन्ट खुलेका छन् । नाफा कमाउनभन्दा पनि व्यवसाय धान्नलाई रेस्टुरेन्ट खोलिएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल बताउँछन् । दसैँ तिहारमा सोचे जस्तो व्यापार भए पनि अब व्यापार बढ्ने आशा नदेखिएको बराल बताउँछन् । ‘चाडका बेला अरु जिल्लाबाट आउनेहरुका कारण व्यापार भयो, अब व्यापार हुँदैन,’ बरालले भने,‘बारहरुमा लाइभ कन्सर्ट गर्न नपाउँदा व्यवसाय डामाडोल छ ।’ बरालका अनुसार पोखराका रेस्टुरेन्टहरुले २५ प्रतिशत छुट दिएर व्यवसाय चलाएका छन् । कोभिडका कारण ७० प्रतिशत ग्राहक घटेको बराल बताउँछन् । ‘लेकसाइडका रेस्टुरेन्ट खुलेका छन्, ग्राहक छैनन् त्यसैले घाटा धेरै लाग्यो,’ उनले भने ।
नर्सरी व्यवसाय फक्रन पाएन
पोखरा ४ सिद्धार्थचोकस्थित गोल्डेन नर्सरीका सञ्चालक दयाकुमार द्वाले पहिलेका तिहारमा ६० हजार थुंगा सयपत्री फूल बेच्थे । तर यो वर्ष नेपालले भारतबाट फूल आयात नगर्ने निर्णय गरेपनि उनले २० हजार फूलमात्र फुलाए । उनले लेकसाइडका होटल रेस्टुरेन्ट नखुल्नाले थोरै फूल उमारेको बताउँछन् । ‘घरघरमा लगेर बेचेर हाम्रो व्यापार हुँदैन, होटल खुल्थे भने हाम्रो फूलले बजार पाउँथे,’ उनले भने,‘७० प्रतिशत जति नोक्सान भइसक्यो, लेकसाइड नखुलेसम्म हामीलाई समस्या छ ।
द्वाले असार साउनमा फुलेका फूलका सबै नष्ट गर्नुपरेको थियो । लकडाउनका कारण व्यापार नभएपछि उनले उत्पादन गरेका फूल खेर गएका थिए । पोखरामा होटल रेस्टुरेन्ट पूरा नखुल्दा द्वा जस्तै अरु नर्सरी सञ्चालक मर्कामा परेका छन् । होटल रेस्टुरेन्टले नर्सरीबाट ठूलो मात्रामा फूल लैजाने गरेपनि अहिले नलैजाँदा नर्सरी सञ्चालक मर्कामा परेका हुन् । साना नर्सरी सञ्चालकले घरघरमा पुर्याउने गरेपनि ठूला नर्सरी सञ्चालकलाई भने समस्या आएको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया