कोभिडको डरले क्यान्सरको उपचार नरोकौँ

कोभिड-१९ ले मुलकुलाई नै आक्रान्त बनाएको छ । क्यान्सरका बिरामीहरूलाई नि यसले तर्साएको छ । कोभिड-१९ को जोखिमको डरले बिरामीहरू अस्पताल आउन डराएको अवस्था छ । तर जोखिमको डरले क्यान्सरको उपचार रोक्न हुँदैन ।
गत वर्ष गरेको गल्ती फेरि दोहोरिन दिनुहुँदैन । गत वर्ष कोभिड-१९ को पहिलो लहर चल्दा क्यान्सरका बिरामीको उपचारका सन्दर्भमा नेपालमा कुनै गाइडलाइन्स बनेको थिएन । त्यसैले नेपालले अमेरिकन गाइडलाइन्स नै पछ्यायो । जसले कोभिडको कहर चलुन्जेल अन्य रोगको उपचार ‘होल्ड’ भयो । उपचार होल्ड भएको छ भनेर क्यान्सर ‘होल्ड’ हुँदैन । क्यान्सर त उपचार नगरे बढ्छ । क्यान्सरले कसैलाई कुर्दैन । उपचार ‘होल्ड’ हुँदा क्यान्सरका बिरामीमा झनै नकारात्मक असर पुर्याउन थाल्यो ।
क्यान्सरको उपचारका किमोथेरापी, लगायत थुप्रै अन्य थेरापी वा उपचार गर्नुपर्ने हुन्छ । थेरापी गरेर मात्रै पुग्दैन । तीन महिना, छ महिना बिराएर फलोअपमा समेत आउनुपर्ने हुन्छ । बेलाबेला रगत जाँच्नुपर्छ, सिटिस्क्यान, लगायत थुप्रै टेस्टहरू गर्नुपर्ने हुन्छ । कतिपय बिरामीहरूको त अप्रेसन नै पनि गर्नुपर्ने हुन्छ । समयमा उपचार नपाउँदा थुप्रैको समस्या बढ्न थाल्यो । त्यसैले यो वर्ष हामीले क्यान्सरको उपचार नरोक्ने निर्णय गर्यौँ ।
हामीले पोहोरको घटनाबाट पाठ सिकेका छौँ । त्यसैले अहिले कुनै पनि हालतमा क्यान्सरका बिरामीको उपचार रोकेका छैनौँ । बरु अन्य रोगको संक्रमणको जोखिम कम गर्न अस्पतालको सरसफाइमा बढी ध्यान दिइरहेका छौँ ।
क्यान्सर मात्रै होइन, मधुमेह, रक्तचापसम्बन्धी समस्या भएका बिरामीले पनि कोभिड-१९ को महामारीका बेलामा आफ्नो उपचार रोक्न हुँदैन । किनकि यो दीर्घरोग हो । यसको उपचार प्रक्रिया लामो समय चल्छ । यी बिरामीको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ । उपचार रोकिएमा झनै ठूलो समस्या निम्तिने खतरा हुन्छ । अर्कोतिर किमोथेरापी लिइरहेका क्यान्सरका बिरामी, वृद्ध बिरामीहरू, रगतको क्यान्सर भएका बिरामीहरू, बोनम्यारो प्रत्यारोपण गरेका बिरामीहरूलाई कोभिड-१९ को संक्रमणको जोखिम उच्च हुन्छ । तर कोभिडको जोखिमको डरले क्यान्सर वा दीर्घरोगको उपचार भने रोक्न हुन्न । कोभिडको जोखिम कम गरी उपचार गर्नतर्फ ध्यान दिनुपर्छ । घरमा, बजारमा या अस्पताल आउँदा, नेपाल सरकारले कोभिड-१९ को संक्रमण फैलिन नदिन बनाएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।
क्यान्सर, मधुमेह, रक्तचापसम्बन्धी समस्या भएका बिरामीले पनि कोभिड-१९ को महामारीका बेलामा आफ्नो उपचार रोक्नु हुँदैन ।
बरु बिरामीले अन्कोलोजिस्टसँग आफ्नो क्यान्सर रोगको अवस्था र कोभिडको जोखिमका बीचमा किमोथेरापी जारी राख्ने वा रोक्ने वा ढिलाइ गर्ने भन्ने विषयमा छलफल गर्न सक्छन् । सल्लाहका लागि अस्पताल नै गइरहनुपर्दैन । फोन, इमेल लगायत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिन्छ ।
यदि क्यान्सरका बिरामीलाई कोभिड लागेको खण्डमा सुरुमा कोभिड नै निर्मूल पार्ने कोसिस गरिन्छ । किनकि, क्यान्सरको उपचारले बिरामीलाई कमजोर बनाइदिएको हुन्छ । रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । यस्तो बेलामा कोभिडको उपचार गरिएन भने झनै खतरनाक हुन्छ । त्यसैले कोभिड निको बनाएर मात्रै क्यान्सरको उपचारतर्फ अघि बढ्नुपर्छ ।
सरकारी अस्पतालहरूमा बेडहरूबीचको दूरी धेरै हुन्न । त्यस्तो अवस्थामा दूरी बढाउनु आवश्यक हुन्छ । त्यस्तै नेपालमा एकजना बिरामी भए, साथी पनि दुई/तीन जना जाने गर्छन् । भेट्न पनि जाने गरिन्छ । यसमा नियन्त्रण गर्नुपर्छ । बिरामीसँग पनि एक जना मात्रै अस्पताल जानुपर्छ । अस्पताल जाँदा डबल मास्क, फेस सिल्ड, पञ्जा सबै सुरक्षाको साधन लगाएर जानुपर्छ ।
अहिले क्यान्सरका बिरामीले कोभिडको भ्याक्सिन लगाउनुहुन्न भन्ने हल्ला पनि चलेको सुनिन्छ । तर यस्तो होइन । सबै क्यान्सर रोगका बिरामीलाई यो भ्याक्सिन दिन मिल्छ । संसारका संक्रमण रोग विशेषज्ञहरूका साथै क्यान्सर रोगविशेषज्ञहरू बसेर क्यान्सर रोगका बिरामीले कस्तो अवस्थामा भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग नगर्ने भन्ने विषयमा अमेरिकाको प्रतिष्ठित संक्रमण रोग र क्यान्सर रोगको दिशादिर्नेश गर्ने संस्था सीडीसी/एनसीसीएनले प्रारम्भिक गाइडलाइन प्रकाशित गरेको छ । यस गाइडलाइनका अनुसार कोभिड भ्याक्सिन सबै क्यान्सर रोगका बिरामी लगायत हाल एक्टिभ किमोथेरापी लिइरहेका बिरामीहरूलाई पनि दिन मिल्छ ।
यो भ्याक्सिनको प्रभावकारिता फरक-फरक छ । हामीजस्तो गरिब मुलुकका मान्छेले भ्याक्सिनको प्रभावकारिता ५० प्रतिशत मात्रै भए पनि हामीले लगाउनुपर्छ । दुई जनामा एक जना भए पनि बाँच्छ । कोभिडले शरीरमा एन्टिजेन उत्पन्न गर्छ । यी भ्याक्सिनले शरीरलाई एन्टिबडी बनाउँछ । यो भ्याक्सिन लगाएर केही सामान्य रियाक्सन देखिन सक्छ । तर यो सामान्य हो र क्षणिक हुन्छ । डराउनुपर्ने अवस्था छैन ।
सोलिड ट्युमर भएका बिरामीहरूले किमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, रेडियो थेरापी लिइरहेका भए पनि भ्याक्सिन लिन मिल्छ । यदि मेजर शल्यक्रिया गर्नुपर्ने बिरामी भएमा भ्याक्सिन लगाएको दिन शल्यक्रिया नगर्ने, अन्य दिन गर्दा हुन्छ । रेडियोथेरापी लिइरहेका बिरामीको ४/५ दिनपछि भ्याक्सिन दिन मिल्छ ।
यदि बोनम्यारो प्रत्यारोपण गरेका बिरामीको सवालमा एलोजेनिक, अटोलोगस प्रत्यारोपण गरेका, वा सेलुलर थेपारी गरेका बिरामीहरूलाई कम्तीमा तीन महिनापछि मात्रै भ्याक्सिन दिन मिल्छ । अथवा सम्बिन्धित चिकित्सकसँग परामर्श लिएर तीन महिनापछि भ्याक्सिन लगाउन मिल्छ ।
त्यस्तै रक्त क्यान्सर भएका बिरामीले पनि भ्याक्सिन दिन मिल्छ । यदि इन्टेन्सिभ क्यान्सर किमोथेरापी लिइरहेका बिरामीले सामान्य भएपछि मात्र खोप लगाउन मिल्छ । भ्याक्सिन लिएको दिन उपचार नगरे हुन्छ, अरु दिन उपचार गर्न मिल्छ । त्यसैले कोभिडको डरले क्यान्सरको उपचार रोक्न हुन्न । (सुनीता साखकर्मीसँगको कुराकानीमा)
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया