आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

संसदमा राजसंस्थाको वकालत नगर्न सांसद दाहालको चेतावनी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद् बैठकमा अराजकता देखाएको बताएका हुन् ।

उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे । उनले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह दिए ।

सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेको प्रति असन्तुष्टि व्यक्त गरे । नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनले संसदीय नियमावलीभन्दा बाहिर गएर बोलेको उल्लेख गरे ।

सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाइ छ । उनले संसद् बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे ।