मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर खोज

काठमाडौँ : नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण तीव्र रुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका-३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ । हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्‍न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले राससलाई जानकारी दिए । 

कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको छ । अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ ।